• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

‘निजामती सेवा अनुशासित र मर्यादित हुनुपर्छ’

बागलुङ, २२ भदौ

उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधीश नातिबाबु लामिछानेले निजामती सेवा अनुशासित र मर्यादित हुनुपर्ने बताएका छन् । आइतबार बागलुङमा आयोजित निजामती सेवा दिवस मूल समारोहमा उहाँले निजामती कर्मचारीले कानुनको परिधिमा रही कर्तव्यनिष्ठ भएर सेवा गर्नुपर्ने धारणा राखे ।

“कार्य सम्पादन गर्दा कुनैपनि वाद वा विचारसँग सम्बन्धित धारणा व्यक्त गर्नुहुँदैन, त्यो काममा पनि झल्कनु हुँदैन”, उनले भने, “निजामती सेवा अन्य सेवाको पनि मार्गदर्शन गर्ने सेवा भएकाले उदाहरणीय ढङ्गले सेवा प्रवाह गर्नुपर्छ ।” प्रमुख जिल्ला अधिकारी एवं निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक कुमानसिँह गुरुङले दिवसले अझ जनमैत्री सेवा प्रवाह गर्न निजामती कर्मचारीलाई हौसला प्रदान गर्ने बताए ।

उनले निजामती प्रशासनलाई लाग्ने गरेको आरोप चिर्न कर्मचारी आफ्नो आचरणमा बस्नुपर्ने र अनुशासनलाई कडाइपूर्वक पालना गर्नुपर्ने उल्लेख गरे । निमामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, बागलुङका उपाध्यक्ष दुर्गाप्रसाद शर्माले सङ्घीय निमामती सेवा ऐन समयमा आउन नसकेकामा गुनासो व्यक्त गरे । उनले सेवा प्रवाहमा कटिबद्ध हुँदाहुँदै पनि निजामती क्षेत्रलाई हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक रहेको बताए ।

दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल र ब्याडमिन्टन प्रतियोगिताका विजयी कर्मचारीहरुलाई सो अवसरमा पुरस्कार, मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । त्रिदिवसीय कार्यक्रमसहित दिवस मनाइएको मूल समारोह समितिका संयोजक प्रजिअ गुरुङले जानकारी दिए । शुक्रबार उद्योग तथा पर्यटकन कार्यालय परिसरमा वृक्षारोपण र मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । शनिबार ब्याडमिन्टन प्रतियोगिता र मानवसेवा आश्रममा रु. २९ हजार बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको थियो ।

दिवसको मुख्य दिन आइतबार प्रभातफेरीसहित मूल समारोह आयोजना गरिएको हो । आइतबार नै कार्यालय परिसर सरसफाइ र साँझ दीप प्रज्ववलनको कार्यक्रम तय गरिएको निजामती सेवा दिवस मूल समारोह समितिले जनाइएको छ ।