• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

चुनाव नजिकिँदा राजनीतिक गतिविधि बढ्यो

पोखरा, २६ मङ्सिर

अबको ८३ दिनपछि प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आगामी फागुन २१ गतेलाई घोषित निर्वाचनको मिति निजकिँदै गर्दा गण्डकी प्रदेशमा राजनीतिक गतिविधि बढेको छ । दलहरु चुनावलक्षित अभियान र कार्यक्रममा केन्द्रित बनेका छन् । ‘जेनजी’ आन्दोलनपछि केही समय सुस्ताएको दलीय गतिविधि पुनः पुरानै लयमा फर्किएको हो ।

यसअघिको प्रतिनिधिसमा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसले आसन्न निर्वाचनका लागि उम्मेदवार सिफारिससँगै साङ्गठानिक गतिविधिलाई पनि तीव्र पारेको छ । नेपाल काँग्रेस, गण्डकीका महामन्त्री विष्णु लामिछानेले उम्मेदवार सिफारिस, काँग्रेसको क्रियाशील सदस्यता वितरण तथा नवीकरण र सङ्गठन विस्तारको काम सँगसँगै भइरहेको बताउनुभयो ।

“जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “निर्वाचनलाई लक्ष्य गरेर जिल्ला र प्रदेश स्तरमा पार्टीका भेला, बैठकहरु पनि भइरहेका छन्, पार्टीको महाधिवेशन पनि नजिकिएकाले राजनीतिक माहोल बढेको छ ।”

नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म हुँदैछ । वडा, क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन हुने भएकाले यतिबेला काँग्रेसभित्रको आन्तरिक राजनीति गर्माएको महामन्त्री लामिछानेले बताउनुभयो । पार्टी महाधिवेशनसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा प्रदेशको सिङ्गो पार्टी पङ्क्ति जुटेको उहाँको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० पनि ११औँ महाधिवेशनको सङ्घारमा छ । महाधिवेशन प्रतिनिधिसहित पार्टीका नेता, कार्यकर्ता राजधानी काठमाडौँ पुग्ने क्रम सुरु भएको छ । शनिबारदेखि सुरु हुने महाधिवेशनले पार्टीको आन्तरिक राजनीतिलाई चलायमान बनाएको नेकपा ९एमाले०, बागलुङका अध्यक्ष हिराबहादुर केसीले बताउनुभयो । “एमालेको महाधिवेशनले राष्ट्रिय राजनीतिमा पनि प्रभाव त राख्छ नै, तर मुलभूत रुपमा एमालेको आन्तरिक जीवनमा यो महाधिवेशन धेरै महत्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

महाधिवेशनको घोषणाले एमालेलाई गतिशिल बनाएको र यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र एकताको भावनालाई थप सुदृढ पार्ने अध्यक्ष केसीले बताउनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचन पनि घोषणा भइसकेको सन्दर्भमा दलका चुनावी गतिविधि स्वभाविक रुपमा बढ्ने उहाँको भनाइ छ । राजनीतिक गतिविधि सही ढङ्गले अगाडि बढ्दा मुलुक र लोकतन्त्रको रक्षा हुने अध्यक्ष केसीले बताउनुभयो ।

विभिन्न दल र समूहहरुबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी पनि यतिबेला राजनीनित गतिविधिमा सक्रिय छ । उक्त पार्टीका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे ‘अनिल’ले गण्डकी प्रदेशस्तरीय पार्टी एकता सन्देश सभा यही मङ्सिर १४ गते पोखरामा सम्पन्न भएपछि अहिले जिल्लास्तरमा एकता सन्देश सभा भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनअघि म्याग्दीमा एकता सन्देश सभा भइसकेको छ ।

गोरखा र लमजुङमा बिहीबार एकता सन्देश सम्पन्न भएको छ । तनहुँ, पर्वत र स्याङ्जामा शुक्रबार, बागलुङ र नवलपुरमा शनिबार एकता सन्देश सभाको आयोजना हुने केन्द्रीय सदस्य गैरेले बताउनुभयो । एकता सन्देश सभामार्फत पार्टीका नीति र विचारलाई जनस्तरमा लैजाने र चुनावी वातावरण बनाउन काम नेकपाले गरिरहेको उहाँको भनाइ छ । “नेपाली कम्युनिष्ट पार्टी निर्वाचनमा भाग लिने घोषणासहित तयारीमा जुटिसकेको छ, अहिले पार्टीको एकताको सन्देश देशव्यापी रुपमा प्रवाह भइरहेको छ, यसले पनि निर्वाचनको माहोल बनाउन मद्दत पुगेको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी, बागलुङका जिल्ला सदस्य राजेन्द्र शर्माले निर्वाचन केन्द्रित भएर पार्टीका गतिविधि अगाडि बढाइएको बताउनुभयो । “सङ्गठन विस्तारसँगै चुनावी तयारीमा जुटेका छौँ, १६ वटा वडाका अधिवेशन पनि सम्पन्न गरिएको छ”, उहाँले भन्नुभयो, “निर्वाचनको वातावरण बन्दैछ, दलहरु आआफ्नो तयारीमा लागेका छन् ।”

उहाँले रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ बागलुङबाट चार जना आकाङ्क्षी उम्मेदवारको नाम पठाइएको जानकारी दिनुभयो । “प्रत्यक्षतर्फको निर्वाचनका पनि आकाङ्क्षी उम्मेदवारहरुको आवदेन लिने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “जिल्लाबाट नामावली पठाउँछौँ, उम्मेदवारको छनोटको अन्तिम निर्णय पार्टी केन्द्रले गर्छ ।” गण्डकी प्रदेशमा क्रियाशील अन्य राजनीतिक दलहरु पनि चुनावको तयारीमा जुट्न थालेका छन् ।