बागलुङ, २९ असोज
धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा विजयादशमी, नेपाल सम्वत्, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्षहरूको समेत सहभागिता रहेको कार्यक्रममा अस्पतालको वर्तमान अवस्था र आगामी दिनमा अस्पतालको सर्वाङ्गीण विकासका लागि गर्न सकिने कामका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा अस्पतालको विकासमा योगदान पुर्याएका व्यवस्थापन समितिका पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको थियो। त्यस्तै, अस्पतालबाट अवकाश प्राप्त वरिष्ठ नर्सिङ निरीक्षक देवी भट्टराई, वरिष्ठ रेडियोग्राफर निरीक्षक खड्गवीर थापा र सहायक प्रशासकीय अधिकृत तारानाथ शर्मालाई बिदाइ गरिएको थियो।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रसाद शर्माले अस्पतालको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो भने मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवाका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँ, लगायतको उपस्थिति रहेको थियो।
