• २०८३ आश्विन २०, मङ्गलबार
  • 2026 October 06, Tuesday
  • Unicode Converter

कल्पना र अश्विनीको कुकुर प्रेम

बागलुङ, १५ भदौ

कल्पना थापा कक्षा दसमा पढ्थिन् । विद्यालबाट घर फर्कदा एकदिन उनले बाँसघारीमा अनौठो दृश्य देखिन् । सुत्केरी कुकुर भुईँमा लडिरहेको थियो । उसका छाउराछाउरी दूध चुसीरहेका थिए । कल्पना कुकुरको नजिकै गइन् । तर, कुकुर भने मृत अवस्थामा थियो । त्यो देखेर उनी भावुक भइन् । मानवीयता हुने जोकोहीका लागि त्यो मन दुखाउने दृश्य थियो । एकछिनमा उनी घर गइन् र बोतलमा दूध ल्याएर कुकुरका बच्चालाई खुवाइन् । भोलिपल्ट आउँदा मृत अवस्थामा रहेको सुत्केरी कुकुरलाई स्थानीयले व्यवस्थापन गरिसकेका थिए । मातृत्व गुमाएका कुकुरका ती छाउराछाउरीलाई खुवाउने र हुर्काउने कस्ले ? यो प्रश्नले उनलाई बिझाइरह्यो । त्यसपछि तिनको स्याहारसुसार गर्नु आफ्नो जिम्मा सम्झिइन् । विद्यालय आउँदाजाँदा दैनिक दूध लिएर खुवाउन थालिन् । छाउराछाउरी विस्तारै हुर्कदै गए । पछि आफै सडकमा डुल्ने, खाने गर्न थाले ।

कल्पना भने यही घटनाबाट कुकुरसँग नजिकिइन् । कुकुरलाई हेर्ने दृष्टिकोण नै बदलियो । एसएलसी दिएपछि थप अध्ययनका लागि पोखरा पुगेकी उनले त्यहाँ पनि सडक कुकुरलाई खानेकुरा दिने, बोलाउने, खेलाउने गर्थिन् । स्नातक तहको पढाइ सकेर बागलुङ फर्केपछि उनको कुकुरप्रतिको दया र करुणा थप झाङ्गिदै गयो । “घर वरिपरिका कुकुरलाई बोलाएर खानेकुरा दिन थालेँ, यो मेरा लागि नियमित काम जस्तै हुन गयो”, ३६ वर्षीया कल्पनाले भनिन् “अहिले बागलुङ बजारका ४० देखि ५० वटासम्म सडक दैनिक कुकुरलाई खाना बनाएर खुवाउँछु ।” कुकुरप्रति उनले दर्शाएको प्रेम र करुणा देखेर कतिपय मानिस दङ्ग पर्छन् । साँझ ७ बजेदेखि अबेर रातिसम्मै उनी सडकमा कुकुरलाई खाना खुवाइरहेकी हुन्छिन् । वर्षायाममा झरीकोसमेत पर्वाह नगरी उनी कुकुरको स्याहारसुसारमा खटिन्छिन् ।

दस वर्षदेखि कल्पना कुकुरको हेरचाह र कल्याणमा सक्रिय छिन् । कुकुरलाई निर्दयी व्यवहार गर्ने, घृणा गर्ने समाजमा कल्पना भने अपबाद बनेकी छिन् । उनले कुकुरलाई खाना मात्र खुवाउँदिनन्, कुकुर बिरामी पर्दा, घाइते हुँदा उद्धार र उपचार पनि गर्छिन् । आफूले खाना खुवाउने सडक कुकुरलाई उनले नाम पनि राखिदिएकी छिन् । उनलाई देखेपछि कुकुरले पछ्याउँछन् ।

कल्पना भन्छिन्, “कुकुर मेरा घरका सदस्यहरु जस्तै हुन्, सडकमा दु:ख पाएका तीन कुकुरलाई उद्धार गरेर घरमै लगेर पालेकी छु ।” उनले स्कुटरमा खाना राखेर सडकका चोकचोकमा पुगी कुकुरलाई खाना खुवाउने गर्छिन् ।

कुकुरको खानाका लागि दैनिक रु. २५ हजारदेखि ३५ हजारसम्म खर्च लाग्ने गरेको उनले बताइन् । खानामा भात, कुखुराको खुट्टा, टाउको आदि हुने गरेको छ । घाइते र बिरामी कुकुरको उपचार गर्दा एकैपटकमा धेरै खर्च लाग्ने गरेको उनको भनाइ छ । खाना व्यवस्थापनमा स्वत:स्फूर्त रुपमा आएको सहयोगबाहेक बाँकी खर्च आफै व्यहोर्ने गरेको थापाले बताइन् । परिवारको साथ–सहयोग भएका कारण उनलाई कुकुरको स्याहारसुसारमा सहयोग पुगेको छ । गम्भीर बिरामी भएका कुकुरको उपचारका लागि पोखरासम्म लैजाने गरेको उनले सुनाइन् । पेसाले नर्स कल्पनाले कुकुरको सामान्य उपचार भने घरमै गर्छिन् ।

“मानिसले ढुङ्गा र धारिला हतियार प्रयोग गरि हान्दा, सवारीसाधनले ठक्कर दिँदा कुकुर घाइते हुने गरेका छन्, कतै यस्तो अवस्थामा कुकुर भेटिए मलाई फोन आउँछ, म तुरुन्तै त्यहाँ पुगेर उद्धार गर्छु”, थापाले भनिन्, “पशुसेवा सम्बन्धी कार्यालयका कर्मचारीलेसमेत फोन गरेर कुकुरको उद्धारका लागि सहयोग माग्नुहुन्छ ।”

बागलुङ नगरपालिका–३ गुठीकी कल्पनाको कुकुर प्रेम देखेर टोल र छरछिमेकका मानिसहरु भने सन्तुष्ट छैनन् । कतिजनासँग उनको यही विषयमा मनमुटावसमेत हुने गरेको छ । कोरोना महामारीका बेलामा सङ्क्रमण फैलाउन मद्दत गरेको भन्दै प्रहरीलाई खबर गरेर आफूलाई तर्साउनेसम्मको प्रयास भएको कल्पनाले बताइन् । “आफ्नो पैसा, समय र श्रम लगाएर गरेको काममा पनि सकारात्मक साथ नपाउदा दु:ख लाग्छ”, उनले भनिन्, “सबैको आँखी हुनुपरेको भनेर बुबाआमाले यो काम नगर्न पनि सुझाव दिनुहुन्छ, तर मेरो मनले मान्दैन, म यो काममा समर्पित छु, यसमै रमाइरहेको छु ।”

उनले कतिपय मानिसमा कुकुरमा जति पनि समवेदना नभएको भन्दै गुनासो पोखिन् । उनी कुकुरको संरक्षणसँगै अधिकारका लागि पनि सक्रिय छिन् । उनले आर्थिक सहयोग जुटाएर वर्षमा दुई पटकसम्म कुकुरको बन्ध्याकरणसमेत गर्दै आएकी छिन् । उनी बागलुङ बजारमा दुई सयभन्दा बढी सडक कुकुर रहेको अनुमान गर्छिन् । बागलुङ बजारमा मात्र नभएर मालढुङ्गा, पर्वतको सहस्रधारासम्म पुगेर थापाले कुकुरलाई खाना खुवाउँछिन् । कुकुरलाई खाना खुवाउनेमा उनी एक्ली छैनन् । बानपा–३ कै अश्विनी केसी पनि कुकुर भनेपछि हुरुक्क हुन्छिन् ।खाना नपाएर भौँतारिएको कुकुर देख्यो कि उनको मन कुँडिन्छ । २१ वर्षीया केसी पनि पाँच वर्षदेखि आफ्नो टोलका कुकुरलाई खाना खुवाउँदै आएकी छिन् । कल्पनासँग मिलेर कुकुरको उद्धार कार्यमा पनि उत्तिकै खट्छिन् ।

“कुकुरलाई पनि हामीलाई जस्तै भोक लाग्दो हो भन्ने लागेर सडकमा डुल्ने कुकुरलाई खाना खुवाउन थालेकी हुँ”, उनले भनिन्, “यो काम गर्दा बाहिरकाले त्यति राम्रो नठानेपनि घरमा बुबाआमाको साथ पाएको छु ।” स्नातक तहमा अध्ययनरत केसीले कुकुरको खानाका लागि आफै खर्चको जोहो जुटाउने गर्छिन् ।

कुकुरलाई खाना खुवाउँदा जस्तो आनन्द र खुसी अरु कामबाट नमिल्ने उनले बताइन् । जस्तोसुकै परिस्थितिमा पनि कुकुरको हेरचाह र उपचारमा निरन्तर खट्ने उनको प्रण छ । घरमा पालेका कुकुरलाई पनि बिरामी या बुढो भएपछि सडकमा छोड्ने प्रवृत्ति गलत र अमानवीय भएको केसीको भनाइ छ । कसैको घरअघि सडकमा लगेर कुकुरलाई खाना खुवाउँदा पनि गाली खानुपरेको तितो अनुभव अश्विनीसँग छ । अहिले उनले ठूलो चोक र खुला ठाउँमा लगेर कुकुरलाई खाना खुवाउँछिन् ।

उनले घरमा पनि कुकुर पालेकी छिन् । केसीले कुकुरको उचित व्यवस्थापन र संरक्षणमा स्थानीय सरकार चुकेको बताइन् । “वर्षमा एकपटक मात्र भएपनि बन्ध्याकरण गरिदिने हो भने कुकुरको व्यवस्थापनमा ठुलो सहयोग हुनेथियो, हामीले हरेक वर्ष स्वेच्छिक रुपमा सहयोग उठाएर यो काम गर्दे आएका छौँ”, उनले भनिन्, “स्थानीय सरकार र अरु कुनै पनि संघसस्थाबाट अहिलेसम्म सहयोग पाएका छैनौँ ।” आश्विनी र कल्पनाको भेट टोलका कुकुरलाई खाना खुवाउने क्रममै भएको हो । कुकुरलाई खाना आआफ्नै तरिकाले खुवाए पनि कुकुरको उद्धार, उपचार र बन्ध्याकरणका लागि दुवै जना मिलेर काम गर्छन् । केसीले पशु अधिकारको रक्षा हुनुपर्ने धारणा राख्छिन् । मानिसले जस्तै पशुपंक्षीले बाँच्न पाउनेपर्ने बताइन् । 

अश्विनीलाई छिमेकी देवी रुचाल र उनकी छोरी निशा रुचालले पनि कुकुरको हेरचाहमा सघाउने गरेका छन् । साँझपाख गुठी र चिप्लेटी बसर्पाकतिर जम्मा हुने कुकुरलाई मिलेर खाना खुवाउँछन् । आफूजस्तै कुकुरलाई माया गर्ने साथी भेटेपछि कल्पना पनि खुसी छिन् । कुकुरको उपचार र बन्ध्याकरणका लागि उनीहरु पालैपालो पोखरा जाने गरेका छन् । कतिपयले सोच्न पनि नसकेको काम कल्पना र आश्विनीले निरन्तर गर्दै आइरहेका छन् । नि:स्वार्थ मानवीयताले गरेको यस कार्यको प्रशंसा र प्रचारको पनि भोक उनीहरुलाई छ्रैन । कुराकानीका क्रममा कैयौपटक आँखा रसाएका कल्पना र अश्विनीले कुकुरले आफ्नो पीडा भन्न नसक्ने हुनाले मानिसले उनीहरुलाई उचित संरक्षण दिनुपर्ने बताए । कल्पना र आश्विनीले गरेको यस कार्यले मानवता अझै जिउँदो छ भन्ने प्रमाण दिन्छ । कुकुरप्रति उनीहरुको देखाएको प्रेम र जिम्मेवारीले सबैलाई एकपटक सोच्न बाध्य पार्छ ।