बागलुङ, २८ असोज
फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी विश्वस्त देखिएका छन् । सुरुमा छ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीमा थप आशा जागेको छ ।
फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान सुरुवातमै उत्साहजनक रहेपछि फ्लाई दुबईले बुकिङ अवधि बढाएको बताउनुभयो । “आगामी वर्षसम्मका लागि बुकिङ खुला भएपछि उडान नियमित सञ्चालन हुनेमा विश्वास थप बढेको छ, यो पोखराका पर्यटन व्यवसायीलगायत सबैका लागि सुखद् विषय हो”, उहाँले भन्नुभयो ।
चाडबाडको समय भएकाले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जानेको सङ्ख्या केही कम रहेको उहाँको भनाइ छ । चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको सङ्ख्या फेरी बढ्ने श्रेष्ठले बताउनुभयो । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले फ्लाई दुबईको उडानलाई सफल बनाउन सबै पक्षको सहयोग र सहकार्यको खाँचो रहेको बताउनुभयो ।
पोखरा अन्तरर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिँह रावतले असोज ७ गतेयता मौसम खराबीका कारण फ्लाई दुबईको एउटा उडान रद्ध भएपनि अन्य दिन नयमित उडान भइरहेको बताउनुभयो । फ्लाई दुबईको उडान तालिका अनुसार जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र साँझ ७ः१५ बजे दुबई प्रस्थान गर्ने गरेको उहाँको भनाइ छ ।
गत सोमबारसम्ममा फ्लाई दुबईको उडानमार्फत तीन हजार एक सय १३ यात्रु दुबईबाट पोखरा आएको र पोखराबाट एक हजार चार सय २३ यात्रु दुबई गएको जनाइएको छ । २० दिनको उडान अवधिमा दुर्वतर्फ गरी कुल चार हजार पाँच सय ३६ यात्रु आवातजावत गरेको पाइएको छ । फ्लाई दुबईको उडानलाई प्रभावकारी बनाउन लागिपरेका पोखराका पर्यटन व्यवसायीलगायत सम्बद्ध पक्ष उडान दिगो हुनेमा विश्वस्तसँगै उत्साहित पनि छन् ।
टिकट बुकिङ उत्साहजनक रहेपछि टुर्स एण्ड ट्राभल्स व्यवसायीहरुमा पनि उडान नियमित हुनेमा आशा जागेको छ । यस उडानबाट आउने यात्रुलाई लक्षित गरी होटल, रेष्टुँराले छुट योजना ल्याएका छन् । फ्लाई दुबईले १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई–पोखरा–दुबई उडान गर्दै आएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरू गर्ने फ्लाई दुबई पहिलो वायुसेवा कम्पनी हो । यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर उडान गरेका थिए । फ्लाई दुबईको उडान सुरू भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकसँग पोखराको हवाई सञ्जाल विस्तार भएको छ । यसबाट दीर्घकालिन रुपमा पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तरर्राष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान सुरु गरेको हो । दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो ।
सरकारले अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था छ ।
