• २०८३ मंसिर ९, मङ्गलबार
  • 2026 November 24, Tuesday
  • Unicode Converter

पुष्प व्यवसायमा जमेको जोडी

बागलुङ, ८ मंसिर

भुवन र विनिता बोहोरा हिजोआज फूलको स्याहारसुसार र व्यवस्थापनमा व्यस्त छन् । बागलुङ नगरपालिका – १ रामरेखामा १२ वर्ष अगाडि बुबा चर्तुरबहादुरले सुरु गरेको पुष्प व्यवसायलई पढाई सकेपछि बोहोरा दम्पतिले अगाडी बढाएका हुन् ।

भारतबाट बोटानी विषयमा एमए गरेका भुवनले आफ्नो पढाइको विषय पनि मिल्ने र नेपालमा राम्रो सम्भावना देखेपछि आफू पुष्प व्यवसायमा लागेको बताउनुभयो।

“सुरुमा बुवाले दुई लाखको लगानीमा सुरु गर्नुभएको थियो”, बोहोराले भन्नुभयो, “अहिले दुई करोड बराबरको लगानी पुगेको छ ।”

नर्सरीमा सिजनमा १५ देखि २० जनाले रोजगारी पाइरहेका छन् भने भुवनलाई उहाँकी श्रीमती बिनिता र बुबाआमाले पनि समय दिइरहेका छन् ।

नर्सरीमा जर्मन, हल्याण्ड, भारतलगायत देशबाट फलफूलका बिरुवा आयात गरिएको बोहोराले बताउनुभयो । पोखरा, बागलुङ, कुश्मा, म्याग्दी र अनलाइनमार्फत नेपाल भरिनै फूलका बिरूवा बिक्री वितरण गरिरहेको उहाँको भनाइ छ । “पर्यटक भित्र्याउन हामीले हाम्रा ठाउँहरुलाई फ्लावर सिटिका रुपमा पनि विकास गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।

बिनिता पनि पुष्प व्यवसायमा भुवनजत्तिकै सक्रिय हुनुहुन्छ । बिनिताले पनि बोटानी विषयमा एमए अध्ययन गर्नुभएको छ । “सुरुमा मान्छेहरुलाई फूल किनेुर रोप्ने भन्दा अलि अप्ठ्यारो मान्थे”, बिनिताले भन्नुभयो, “अहिले मान्छेको सोच फेरिएको छ घरको गार्डेन, छत, गमलामा पनि अहिले हाइब्रिड फूलकै बिरूवा लिन आउनुहुन्छ, अहिले व्यापार पनि राम्रो छ हामी सन्तुष्ट छौ ।”

व्यापार राम्रो हुँदै गएपछि भुवन र बिनिताले आफ्नो व्यवसायलाई विस्तार गर्ने तयारी गरेका छन् । पोखरा, कुश्मा र बनौमा फूलको उत्पादन केन्द्र संचालनका लागि जग्गा व्यवस्थापनलगायतको काम भैरहेको र म्याग्दी, पर्वत र पोखरामा पनि बिक्री केन्द्र खोल्ने तयारी भएको भुवनले बताउनुभयो ।

नयाँ जातका बिरूवा र बिउ आयतमा सरकारले सहजीकरण गर्न सके व्यवसायीलाई सहज हुने उहाँको भनाइ छ । फूलखेतीमा सरकारको ध्यान नजाँदा बर्सेनि करोडौ रुपैयाँ विदेशिने गरेको छ । धेरै जसो भारत र अन्य देशहरु बाट पनि फूलका बिरूवा र बिउ नेपाल भित्रिने गरेका छन् ।