• २०८३ मंसिर ९, मङ्गलबार
  • 2026 November 24, Tuesday
  • Unicode Converter

२२औँ संस्करणको लेखनाथ महोत्सव पुसमा 

पोखरा, ८ मंसिर
२२औँ संस्करणको लेखनाथ महोत्सव–२०८३ आगामी पुस २ देखि १३ गतेसम्म सञ्चालन हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा कास्कीको पोखरा महानगरपालिका–२७, डाँडाकोनाक, तालचोकमा सञ्चालन गरिने महोत्सवको तयारी तीव्र पारिएको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
सङ्घका द्वितिय उपलाध्यक्ष एवं प्रचारप्रसार उपसमितिका संयोजक ध्रुवबाबु भट्टराईका अनुसार महोत्सवमा तीन सय ५५ वटा व्यावसायिक स्टल रहनेछन् । महोत्सवमा कृषि तथा पशुजन्य वस्तु, हस्तकलाका सामग्री, शैक्षिक, ग्रामिण प्रविधि, अटो प्रदर्शनी, बैङ्क तथा वित्तिय संस्थालगायतका बिक्री तथा प्रदर्शनीकक्ष रहने उहाँले जानकारी दिनुभयो ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’को मूल सन्देशसहित आयोजना गरिने महोत्सवमा रु. १२ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको प्रचारप्रसार संयोजक भट्टराईले बताउनुभयो । “महोत्सवबाट रु. एक करोड पाँच लाख आम्दानी, रु. ८५ लाख खर्च र रु. २० लाख बचत हुने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “महोत्सवलाई दुई लाख ७० हजार बढी दर्शकले अवलोकन गर्ने हाम्रो अनुमान छ ।”
महोत्सव अवलोकनका लागि विद्यार्थीलाई रु. ५०, सर्वसाधारणका लागि रु. एक सय र साङ्गीतिक कन्सर्टका लागि रु. दुई सय टिकट मूल्य तोकिएको छ । मेलाको मुख्य आकर्षणका रुपमा औद्यागिक व्यापार मेला, हस्तकला तथा स्थानीय उत्पादनको प्रदर्शनी, कृषि, पर्यटन तथा उद्योग क्षेत्रसँग सम्बन्धित अन्तरसम्वाद, साँस्कृतिक झाँकी, रत्यौली गीत प्रस्तुती, विद्यालयस्तरीय नृत्य, साहित्यिक गोष्ठी, कलाकारहरुको प्रस्तुती, बाल उद्यान, खाना महोत्सवलगायत रहेका छन् ।
महोत्सवका लागि सोमबारदेखि नै स्टल बुकिङ खुला गरिएको जनाइएको छ । सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले कृषि तथ औद्योगिक उत्पादनको प्रवद्र्धन, उद्यमशिलताको विकास, स्थानीय उत्पादनको प्रदर्शनीका साथै लेखनाथ क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । “यो सम्पूर्ण लेखनाथबासीको महोत्सव हो, यसको अपनत्व सबैले लिनुभएको छ”, उहाँले भन्नुभयो ।
विसं २०५४ मा स्थापना भएको लेखनाथ उद्योग वाणिज्य सङ्घले विसं २०५९ मा पहिलोपटक सुन्तला प्रदर्शनी आयोजना गरी लेखनाथ महोत्सवको जग बसालेको थियो । समयसापेक्ष रुपमा परिमार्जन गर्दै महोत्सवलाई २२औँ संस्करणसम्म ल्याइपु¥याइएको अध्यक्ष अधिकारीले बताउनुभयो ।