• २०८३ मंसिर १०, बुधबार
  • 2026 November 25, Wednesday
  • Unicode Converter

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा, ३० कात्तिक

गत अङ्ग्रेजी महिना अक्टुबरमा ४१ हजार सात सय ५८ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जुन गत वर्ष सोही महिनाको तुलनामा चार हजार छ सय ८२ ले बढी हो ।

गत वर्षको अक्टुबरमा जम्मा ३७ हजार ७६ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । मुख्य पर्यटकीय याम भएकाले अक्टुबरमा बढी पर्यटक आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताउनुभयो ।

एक महिनाको अवधिमा भित्रिएका कुल ४१ हजार सात सय ५८ पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १९ हजार दुई सय सात र अन्य देशका २२ हजार पाँच सय एक पर्यटक रहेका छन् ।

जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार छ सय ४५ र अन्य देशका २० हजार तीन सय १८ पर्यटक रहेका छन् । सन् २०२६ सुरु भएयता सबैभन्दा गत जुन महिनामा एक लाख आठ हजार सात सय तीन विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।

उक्त याममा सबैभन्दा बढी भारतीय पर्यटक आएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । दस महिनाको अवधिमा सबैभन्दा कम जनवरी महिनामा २० हजार ६३ पर्यटक भित्रिएको उहाँको भनाइ छ ।

“अक्टुबर–नोभेम्बर मुख्य पर्यटकीय याम भएकाले यतिबेला पर्यटकको संख्या बढ्ने गर्छ”, उहाँले भन्नुभयो । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ ।

सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन् । अन्नपूर्ण क्षेत्र पदयात्रा रूचाउने पर्यटककोसमेत रोजाइमा पर्दै आएको छ ।

संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् ।