• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

सहर भित्रिए हिमाली च्याङ्ग्रा

बागलुङ, ९ असोज

दसैँलाई लक्षित गरी व्यवसायीले हिमाली च्याङ्ग्रा सहर झारेका छन् । हिमालपारिको जिल्ला मुस्ताङ पुगेर उनीहरुले बागलुङ, पोखरालगायत सहरी क्षेत्रमा च्याङ्ग्रा भित्राएका हुन् । दसैँका लागि च्याङ्ग्रा लिन यस क्षेत्रका व्यवसायी बर्सेनि मुस्ताङ पुग्छन् ।

हप्तौँ सयम र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । बागलुङमा विगत एक दशकदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका महेन्द्र केसीले यस वर्ष ५९ च्याङ्ग्रा ल्याएका छन् । नातेदार ज्ञानबहादुर कार्कीसँग मिलेर मुस्ताङको जोमसोमबाट च्याङ्ग्रा ल्याएको उनले सुनाए । रोज्जा च्याङ्ग्रालाई मुस्ताङमै रु। ३८ हजार पाँच सय तिरेकाले बागलुङ ल्याएर बेच्दा रु। ४५ हजार पुगेको केसीले बताए ।

“रोज्जा च्याङ्ग्रा रु। ४५ हजार र चेलु रु। ४० हजारमा बिक्री भइरहेको छ”, उनले भने, “पसलबाट बेच्दा च्याङ्ग्राको प्रतिकिलो रु। २२ सय र चेलुको रु। १८ सय मूल्य पर्छ ।” केसीले दसैँका बेला बागलुङ नगरपालिका–२ मा रहेको ‘नवदुर्गा मासु पसल’बाटसमेत च्याङ्ग्राको मासु बेच्दै आएका छन् ।

दसैँमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन थालेपछि आफैले च्याङ्ग्रा ल्याएर बेच्न थालेको उनले बताए । बागलुङमा पहिलेको तुलनामा च्याङ्ग्रा कम भित्रने गरेको उनको अनुभव छ । “एउटै दसैँमा दुई हजारसम्म च्याङ्ग्रा आउने गर्थे, अहिले च्याङ्ग्राको मूल्य बढेपछि व्यवसायीहरु पनि कारोबार गर्न अनिच्छुक देखिएका छन्”, केसीले भने ।

कोभिड–१९ महामारीपछि झण्डै दोब्बरले च्याङ्ग्राको मूल्य बढेको व्यवसायी बताउँछन् । च्याङ्ग्रापालन कम हुनु, बढ्दो करजस्ता कारणले पनि मूल्य महगिँदै गएको उनीहरुको भनाइ छ । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ ।

मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका छन् । त्यहाँबाट म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा ल्याइपु¥याउन हप्तादिनसम्म लाग्छ । मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँसम्म पुग्ने गरेको छ । मुस्ताङका युवा व्यवसायी निरज थकालीले मङ्गलबार म्याग्दीको बैसरीबाट दस वटा ट्रकमा काठमाडौँ र दुई वटा ट्रकमा च्याङ्ग्रा पोखरा पठाइएको बताए ।

एउटा ट्रकमा ८० देखि ९० वटासम्म च्याङग्रा अट्ने उनको भनाइ छ । व्यवसायी थकालीले आफूले ल्याएका दुई सय च्याङ्ग्रामध्ये एक सय पोखरा र एक सय काठमाडौँ पठाएको बताउनुभयो । “यस वर्ष पोखरामा झण्डै दस हजार र काठमाडौँमा पाँच हजार मुस्ताङी च्याङ्ग्रा पुग्दैछ”, उनले भने, “कतिपय व्यापारी च्याङ्ग्रा लिएर फर्किसके र कोही बाटोमै छ्रन्, यस वर्ष मुस्ताङबाट १५ हजार बढी च्याङ्ग्रा बाहिरिएको अनुमान छ ।”

मुस्ताङदेखि बागलुङ, पोखरा हुँदै काठमाडौँसम्म ट्रकमा च्याङ्ग्रा लाने गरिएपनि केही व्यापारीले भने हिँडाएर पोखरासम्म पु¥याउने गरेका छन् । मासुजन्य अरु परिकार बाह्रैमास पाइने भएपनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दसैँ नै कुनुपर्छ । दसैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ ।
दसैँको नवरात्र सुरु भएसँगै च्याङ्ग्राको बढी कारोबार हुने गरेको व्यवसायी बताउँछन् ।

पोखरामा बर्सेनि दसैँमा हजारौँ च्याङ्ग्राको खरिदबिक्री हुने गर्छ । व्यापारीले मुस्ताङदेखि ल्याएका च्याङ्ग्रालाई पोखराको सिमपानी क्षेत्रमा केन्द्रित गरी बिक्री सुरु गर्छन् । दसैँको नवरात्रभर सिमपानी क्षेत्रमा भेँडाच्याङ्ग्रा किन्नेको भीड नै लाग्ने गर्छ । दसैँ, तिहारजस्ता ठूला चाडबाडका बेला मुस्ताङ, डोल्पालगायत हिमाली भेगबाट च्याङ्ग्रा, भेँडा र चेलु सहरी क्षेत्रमा ल्याउने गरिन्छ ।