• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

गण्डकीका तीन सय ९९ कैदीबन्दी कारागार फर्किए

पोखरा, ३१ भदौ

गत साता चर्किएको ‘जेन्जी’ आन्दोलनका क्रममा कारागार कार्यालय कास्की, तनहुँ, पर्वत र म्याग्दीबाट भागेका ११ सय ९५ कैदीबन्दीमध्ये सोमबार साँझसम्ममा तीन सय ९९ कैदीबन्दी पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीका अनुसार अझै सात सय ९६ जना कैदीबन्दी फरार छन् ।

कास्की कारागारबाट सात सय ७३ कैदीबन्दी भागेकामा दुई सय २५ जना पक्राउ परेका उहाँले जानकारी दिनुभयो । तनहुँ कारागारबाट भागेका तीन सय २७ कैदीबन्दीमध्ये एक सय १५ जना, पर्वत कारागारबाट भागेका १९ जनामा नौ जना र म्याग्दी कारागारबाट भागेका ७६ मध्ये ५० जना पक्राउ परेका हुन् । चारवटै कारागारमा रहेका कुल १२ सय ८१ कैदीबन्दीमध्ये ११ सय ९५ जना भागेका थिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतबाट भागेका ८३ थुनुवामा जम्मा एक जना पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले बताउनुभयो । पोखराको सराङकोटमा रहेको बाल सुधारगृहबाट भागेका एक सय छ जनामध्ये १८ जना पक्राउ परेको उहाँले जानकारी दिनुभयो । बाल सुधारगृहबाट भागेका ८८ जना अझै फरार रहेका छन् । प्रशासनको सक्रियता कारण पर्वत कारागारका ७४ जना र म्याग्दी कारागारका १२ जना कैदीबन्दी भने भाग्न पाएका थिएनन् ।

कारागारबाट भागेका कैदीबन्दीमध्ये केही आफै फर्किएको र कतिपयलाई खोजतलास गरी नियन्त्रणमा लिइएको हो । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले कारागारबाट भागेका कैदीबन्दीलाई आफै फर्कन आग्रह गरिएको बताउनुभयो । “टोलछिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी र थुनुवा देखेमा प्रहरीमा खबर गर्न भनेका छौँ”, उहाँले भन्नुभयो । कारागार व्यवस्थापन विभागले कैदीबन्दी आफै कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर उनीहरुलाई फर्काउने योजना बनाएको छ ।

कारागार कार्यालय, कास्कीका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताउनुभयो । “कारागार व्यवस्थापन विभाग र जिल्ला प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई कारागार फर्कन आव्हान गरेको छ”, उहाँले भन्नुभयो, “हामीले पनि आफन्तमार्फत कैदीबन्दीलाई सम्पर्क गरेर तत्काल कारागार फर्कन भनेका छौँ ।” ‘जेन्जी’ आन्दोलन उग्र बन्दै गएपछि यही भदौ २४ गते राति देशका विभिन्न कारागारबाट कैदीबन्दी भागेका थिए ।