बागलुङ, २४ भदौ
भ्रष्टचारविरूद्धको आन्दोलनमा सरकारले गरेको बर्बर दमन गरेपछि आज बागलुङ बन्दको आव्हान गरेका जेन्जी पुस्ताले राजनीतिक दलका कार्यालयमा पुगी प्रदर्शन गरेका छन् । उनीहरूले बागलुङ बजारस्थित नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयका बोर्ड र झण्डा जलाएका हुन् । बन्द सफल पार्न सडकमा निस्केका जेनजीहरू अहिले सरकारविरूद्ध चर्का नारावाजी गर्दै बजार परिक्रमा गरिरहेका छन् ।
बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित भएको छ । यातायात, पसललगायत सबै ठप्प छन् । यसअघि सोमबार साँझ लोकतान्त्रिकचोकमा विरोध प्रदर्शन गरेका जेन्जीले बागलुङ बन्दको घोषणा गरेका थिए । भ्रष्टचार, असमानता र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन्जीले गरेको देशव्यापी आन्दोलनमा प्रहरीको गोली लागेर १९ जना युवाको ज्यान गएको छ । सयौँ घाइते भएका छन् ।

यसैबीच देशभरीका संस्थागत विद्यालय बन्द गर्ने केन्द्रीय निर्णय अनुसार बागलुङका सस्थागत विद्यालय पनि बन्द गकिएको छ। आन्दोलनमा विद्यार्थीहरु मारिएको भन्दै शोक र विरोध स्वरुप विद्यालय बन्द गरिएको प्याव्सन बागलुङका अध्यक्ष दल थापाले बताए ।
“केन्द्रले दुई दिन विद्यालय बन्दको सर्कुलर पठाएको छ”, उनले भने, “हामीले प्याब्सन, एनप्याब्सन र हिसानबीच छलफल गरेर जिल्लास्थित सबै सस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छौं ।”
