बागलुङ, २१ भदौ
बागलुङ जिल्ला क्रिकेट संघको तस्रो साधारणसभाका अवसरमा जिल्लाका चार उत्कृष्ट क्रिकेट खेलाडी सम्मानित भएका छन् । शनिबार बागलुङ बजारमा आयोजित साधारणसभामा पूर्वखेलाडी रिम थापा, मिलन थापा, वर्ष उदयीमान खेलाडीतर्फ रमित कँडेल र वर्ष खेलाडी अश्विन थापालाई सम्मान गरिएको हो ।
उक्त समारोहका प्रमुख अतिथि बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलले क्रिकेटको विकासका लागि नगरपालिकाका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले जिल्लास्तरमा खेलकुद गतिविधि सञ्चालन गर्न लगानी र पूर्वाधारमाको अभाव रहेको बताए । कार्यक्रममा विशिष्ट अतिथि पत्रकार महासंघ, बागलुङका अध्यक्ष राम थापाले खेलाडीहरूको मेहनत र लगानीलाई उचित पहिचान दिलाउन सञ्चारकर्मीहरू सधैं साथमा रहने बताए ।
संघका सल्लाहकार विजयराज पन्तले जिल्लामा क्रिकेटलाई अझ व्यवस्थित बनाउन नेतृत्व तहमा पारदर्शिता र जिम्मेवारी महत्वपूर्ण हुने विचार व्यक्त गरे । कार्यक्रममा गण्डकी प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिवाकार थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संघको वार्षिक प्रगति प्रतिवेदन र आगामी कार्ययोजना सचिव फडिन्द्र खड्का र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्तोष शर्माले प्रस्तुत गरेका थिए । संघका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष कमल पन्तको स्वागत र सदस्य अभिषेक कटुवालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
