• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

रातो च्याउ उपभोक्ताको रोजाइमा

म्याग्दी, भदौ १६

स्वादिलो र पोषिलो रातो च्याउ उपभोक्ताको रोजाइमा परेको छ । म्याग्दीका जंगलमा पाइने रातो च्याउ प्रतिकिलो रु. एक हजारका दरले किनबेच हुने गरेको छ । सुकुटी बनाएको च्याउ भने रु. चार हजारदेखि पाँच हजारसम्म बिक्री हुने गर्छ । रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका लगीन छन्त्यालले बजारमा च्याउको माग नसकिएको बताए । उनले सदरमुकाम बेनीमा च्याउ ल्याएर बेच्दै आएका छन् । “च्याउ खोजेर बजार ल्याउन सके बिक्रीको कुनै समस्या छैन, डोकोमा ल्याएर बेच्दा खोसाखोस हुन्छ”, उनले भने ।

तीन हजार मिटर उचाइमा खस्रु, हिमाली सल्ला, फलाट, दबदबे जातका सुकेका रूखमा प्राकृतिक रुपमा बर्खायाममा उम्रने रातोच्याउ भान्छाका लागि स्वादिष्ट मानिन्छ । म्याग्दीमा सबैभन्दा धेरै जंगली च्याउ टिपेर बजारमा बेच्ने गुर्जाका बासिन्दा हुन् । गुर्जाबासीले च्याउ बेचेरै वर्षको रु. दुई/तीन लाख सम्म आम्दानी गर्ने गरेका छन् । जिल्लाका अन्य स्थानीय तहका किसानले पनि रातो च्याउ संकलन र बिक्री गरेर आयआर्जन गर्दै आएका छन् ।

रातो च्याउमा प्रोटिन र विभिन्न खनिज तत्व पाइने जानकारहरु बताउँछन् । रातो जंगली च्याउ उम्रिन निश्चित तापक्रम र आद्र्रता चाहिन्छ । मध्यजेठदेखि मध्यअसारसम्म र मध्यभदौदेखि असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौसम हो । म्याग्दीको गुर्जा, लुलाङ, मुदी, चिमखोला, मुना, कुइने, मंगले, घ्याँसीखर्क, राम्चे, घोडेपानीलगायत माथिल्लो भेगका बस्तीमा जंगलमा रातो च्याउ व्यापारिक रूपमा संकलन हुन्छ । जंगलबाट टिपेको च्याउ छिट्टै बिग्रने भएकाले टुक्रा पारेर घाममा सुकाउने गरिन्छ । घाम नलागेका बेला भने अँगेनाको माथि भार बनाई भकारी राख्ने र त्यसैमाथि च्याउ राखेर ताप र धूवाँले सुकाइन्छ ।

डिभिजन वन कार्यालयका अनुसार म्याग्दीका जंगलबाट वार्षिक ३० क्विन्टल रातो च्याउ उत्पादन हुने गरेको छ । जिल्लाबाहिर बिक्रीका लागि पठाउँदा च्याउमा कार्यालयले प्रतिकिलो रु. १० राजस्व लिने गरेको छ । जिल्लाभित्र भने च्याउ संकलन र बिक्रीका लागि अनुमति चाहिँदैन । सहर बजारमा बस्ने लेकाली तरकारीको स्वाद नबिर्सेका उपभोक्ताले गाउँबाट रातो किनेर लैजाने वा आफन्तमार्फत मगाउने गर्छन् । छिमेकी बागलुङको ताराखोला गाउँपालिकाबाट पनि बर्सेनि ठूलो मात्रामा च्याउ खेती बाहिरी बजारमा निर्यात हुने गर्छ ।