बागलुङ, ७ असोज
बागलुङ जिल्लामा डेङ्गु संक्रमण फैलिइरहेका बेला बागलुङ नगरपालिकाका विभिन्न वडामा गरिएको केस–कन्ट्रोल तथा भेक्टर सर्वेक्षणमा फ्रिज, कुलर, जल राख्ने कलश, गमलाको प्लेट र प्रयोग नभएका टायरमा लामखुट्टेको लार्भा, प्युपा तथा अण्डा भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार नगरपालिकाका वडा नं.१, २, ३ र ४ का ११२ घरधुरीमा रहेका ४४४ वटा पानी जम्ने भाँडाको निरीक्षण गर्दा ८९ वटा पानी भरिएका भाँडामा डेङ्गु सार्ने लामखुट्टेको लार्भा, प्युपा तथा अण्डा फेला परेको हो।
स्वास्थ्य सेवा विभागका डा। गोकर्ण दहाल, फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुबेदी तथा विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्तलगायतको टोलीले उक्त अध्ययन गरेको हो।
अध्ययन टोलीले घर तथा घर वरपर रहेका पानी जम्ने भाँडा, ट्यांकी, गमला, टायरलगायतका स्थान डेङ्गु सार्ने लामखुट्टे प्रजननका मुख्य स्रोत रहेको जनाएको छ। टोलीले पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने तथा प्रयोगमा नरहेका भाँडा र कन्टेनर खाली तथा सुक्खा राख्न आग्रह गरेको प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो।
कार्यालयले जिल्लामा डेङ्गु संक्रमण फैलिने क्रम जारी रहेकाले घर तथा कार्यालय वरपर पानी जम्न नदिन र लामखुट्टे हुर्किने स्थान नष्ट गर्न नगरवासीलाई आग्रह गरेको छ। डेङ्गु मुख्यतः एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले पानी जम्ने भाँडाहरू नियमित सफा गर्नुपर्ने जनाइएको छ।
कार्यालयले फ्रिज तथा कुलरमा जमेको पानी नियमित सफा गर्ने, ड्रम, गाग्री, बाल्टी तथा पूजा सामग्री राख्ने भाँडाहरू सफा गरी सुकाएर राख्ने, घर वरिपरि पानी जम्न नदिने तथा हप्तामा कम्तीमा एकपटक टोल तथा समुदायमा सरसफाइ अभियान सञ्चालन गर्न सबैलाई आग्रह गरेको छ