• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

दाजुभाइले सञ्चालनमा ल्याए ‘ताण्डव डान्स एकेडेमी’

बागलुङ, ५ असोज

बागलुङमा आइबार ताण्डव डान्स एकेडेमीको शुभारम्भ गरिएको छ । नृत्य प्रशिक्षण तथा कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले ‘ताण्डव डान्स एकेडेमी’ सञ्चालनमा ल्याइएको हो। बागलुङका दुई दाजुभाइ साजन नेपाली र साहिल नेपालीले संयुक्त रुपमा एकेडेमी संचालनमा ल्याएका हुन् ।

एकेडेमीको उद्घाटन गर्दै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले ताण्डव डान्स एकेडेमीले नृत्य सिकाउने केन्द्रमा मात्र सीमित नभई कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पनि योगदान पुर्‍याउनुपर्ने बताउनुभयो। उहाँले भगवान शिवको ताण्डव नृत्यको प्रसंग उल्लेख गर्दै युवालाई सिर्जनात्मकता, अनुशासन र ऊर्जासहित अघि बढ्न प्रेरित गर्ने थलोका रूपमा एकेडेमी विकास हुनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’, युवा नेता विशोष पराजुली, प्रेम थापा र सुशील काउचाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

एकेडेमीका सञ्चालक साजन नेपालीले आफू १२ वर्षको उमेरदेखि नृत्य क्षेत्रमा सक्रिय रहेको बताउँदै सिकेको सीपलाई व्यवसायसँग जोड्ने उद्देश्यले एकेडेमी स्थापना गरेको जानकारी दिनुभयो। उहाँले नृत्य र कलालाई पनि सम्मानजनक जीविकोपार्जनको माध्यम बनाउन सकिने विश्वासका साथ यो अभियान सुरु गरेको बताउनुभयो।

कार्यक्रम एकेडेमीका सञ्चालक साजन नेपालीको अध्यक्षता, सुनिल बीजीको सञ्चालन तथा पत्रकार दिलीप प्रतेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।