पोखरा, २ असोज
पर्या–पर्यटनको माध्यमबाट स्थानीयस्तरमा आयआर्जन वृद्धि र रोजगारी सिर्जनाका लागि पोखरा महानगरपालिकाले फेवाताल र पञ्चासे क्षेत्रमा महत्वपूर्ण पर्यटन पूर्वाधार आयोजना अगाडि बढाएको छ ।
एसियाली विकास बैङ्कको सहयोगमा सञ्चालित ‘सहरी उत्थानशील तथा जीवनयापन सुधार परियोजना’अन्तर्गत ‘फेवाताल अर्गानिक ट्रेल’ र ‘पञ्चासे इको डेभलेभमेन्ट’ आयोजना निर्माणका लागि बोलपत्र आव्हान भइसकेको परियोजनाका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभयो ।
झण्डै रु. ५२ करोडको लागतमा बन्ने यी दुई आयोजनाको काम निर्माण सुरु भएको १८ महिनाभित्र सक्ने लक्ष्य रहेको उहाँको भनाइ छ । “बोलपत्रको प्रकृया टुङ्गिएपछि अबको दुई÷तीन महिनाभित्रैमा पूर्वाधार निर्माणको काम सुरु हुन्छ”, इन्जिनियर गौतमले भन्नुभयो, “पोखरा आउने पर्यटकको बसाइँ लम्बाउने, स्थानीयस्तरमा रोजगारी सिर्जना र जीविकोपार्जजनमा सुधार ल्याउने उद्देश्ययले यी आयोजना सुरु गर्न लागिएको हो ।”
सङ्घ सरकारलाई विश्व बैङ्कले दिएको सहुलियतपूर्ण ऋणबाट सशर्त अनुदानमार्फत महानगरपालिकाई प्राप्त हुने ७५ प्रतिशत, नगर विकास कोषको १८ प्रतिशत ऋण सहयोग र महानगरको आन्तरिक स्रोतबाट सात प्रतिशत बजेट आयोजना निर्माणमा खर्च हुनेछ । ‘फेवाताल अर्गानिक ट्रेल’अन्तर्गत चारवटा पदमार्ग स्तरोन्नति गरिने इन्जिनियर गौतमले बताउनुभयो ।
“अहिले भएकै पदमार्गलाई स्तरोन्नति गर्ने, पर्यटन पूर्वाधारलाई वातावरणमैत्री ढङ्गले विकास गर्ने योजना रहेको छ”, उहाँले भन्नुभयो, “पदमार्गमा प्रवेशद्वार, विश्रामस्थल, सूचनापाटी, सङ्केत चिन्ह, शौचालय, खानेपानी, रेलिङ आदि संरचना निर्माण हुनेछन् ।”
पदमार्गमा पर्ने चौताराको संरक्षण र फोहर व्यवस्थापनका लागि चाहिने संरचना पनि बनाइने उहाँले बताउनुभयो । पूर्वाधार निर्माण गर्दा वातावरणीय स्वच्छतालाई ध्यान दिई स्थानीय स्रोतसाधन र प्रविधिको प्रयोग गरिने उहाँको भनाइ छ । भत्केका र जीर्ण भएका पदमार्गलाई मर्मतसम्भारसमेत गरिने छ ।
परियोजनामार्फत ड्यामसाइडदेखि फेवातालको किनारैकिनार अनदु हँदै तालपारिसम्म ६.८ किमि, ड्यामसाइडदेखि बसुन्धरापार्क–तालबराही हुँदै गैराचौतारासम्म ४.९ किमि, ड्यामसाइडदेखि विश्वशान्ति स्तूपा हुँदै पुम्दीकोटसम्म ४.७ किमि र शान्तिस्तूपाबाट फेवाताल जोड्ने ०.८५ किमिको पदमार्ग स्तरोन्नति गरिने भएको हो ।
यस्तै कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल पञ्चासेमा पनि चारवटा पदमार्ग स्तरोन्नति हुने इन्जिनियर नवीन गौतमले बताउनुभयो । डाँडाकेटेरीदेखि लामथाङसम्म ०.८३ किमि, पञ्चासे भञ्ज्याङदेखि लामथाङसम्म १.१४ किमि, पञ्चासे भञ्ज्याङदेखि पञ्चासे मन्दिरसम्म २.०५ किमि र पञ्चासे भञ्ज्याङदेखि पोखरीसम्म ०.४२ किमि पदमार्ग स्तरोन्नति हुनेछ ।
पञ्चासेमा रहेको ऐतिहासिक पोखरी र ‘बर्ड वाचिङ टावर’को सौन्दर्यीकरण गरिने महानगरले जनाएको छ । जैविक विविधताले भरिएको पञ्चासे क्षेत्रमा रहेका वनस्पतिको नामाकरण पनि गरिने भएको छ । महानगरपालिकाले पर्यटकीय क्षेत्र पञ्चासे जोड्ने गरी साइकल लेनसहितको विशेष पहुँच मार्ग र अध्ययन केन्द्र निर्माणको योजना पनि अगाडि बढाएको छ ।
पोखरा–२३ घाँटीछिनादेखि पञ्चासेको भञ्ज्याङसम्म निर्माण गरिने विशेष पहुँच मार्गको बोलपत्र सम्बन्धी कागजात र संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन केही समअघि नगर कार्यकालिकाको बैठकले स्वीकृत गरेको थियो । पोखराको पर्यटन प्रवद्र्धन, दिगो सहरी यातायात र पर्यावरणमैत्री पूर्वाधार निर्माण, जैविक विविधताको अध्ययन तथा अनुसन्धानका का लागि यी आयोजनाले महत्वपूर्ण टेवा पु¥याउने जनाइएको छ ।