• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

स्वस्थ जीवनशैली र मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकण सम्पन्न

बागलुङ, १७ असार

मानसिक स्वास्थ्य प्रवर्द्धन, स्वस्थ जीवनशैलीको विकास तथा आयुर्वेदिक उपचार पद्धतिप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठेखोला गाउँपालिका–५, बिहुँमा मानसिक स्वास्थ्य सचेतना, पैरवी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ र धौलागिरी आयुर्वेद अस्पताल, बागलुङको संयुक्त आयोजना तथा काठेखोला गाउँपालिकाको समन्वयमा सम्पन्न कार्यक्रम बिहुँगुट आधारभूत स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष यमनाथ कँडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कँडेलले मानसिक स्वास्थ्यलाई व्यक्ति, परिवार र समाजसँग जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याउँदै सकारात्मक सोच, आत्मीय व्यवहार, पारिवारिक सहयोग र सामाजिक सद्भावले मानसिक स्वास्थ्य सुदृढ हुने बताउनुभयो। उहाँले विगतमा गाउँघरमा उत्पादन हुने घिउ, दही, दूध, मोही, कोदो, मकै, फापरलगायत पोषणयुक्त स्थानीय खाद्य पदार्थको सेवनले मानिसहरू स्वस्थ रहने गरेको स्मरण गराउँदै अहिले जंक फुड, प्रशोधित खाद्य पदार्थ तथा मोबाइल र डिजिटल उपकरणको अत्यधिक प्रयोगका कारण शारीरिक तथा मानसिक समस्या बढ्दै गएको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका जनस्वास्थ्य अधिकृत टिकाराम भण्डारीले मानसिक स्वास्थ्य, मानसिक रोगका लक्षण, आत्महत्याको जोखिम, रोकथामका उपाय, विद्यालय र समुदायको भूमिका तथा समयमै परामर्श र उपचारको आवश्यकताबारे प्रस्तुतीकरण गर्नुभयो। उहाँले मानसिक स्वास्थ्य समस्या लुकाउने विषय नभई समयमै पहिचान गरी उपचार गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी धौलागिरी आयुर्वेद अस्पताल, बागलुङका वैद्य निरीक्षक एकराज ढुङ्गाना, आयुर्वेद चिकित्सक दिवाकर सापकोटा तथा विशेषज्ञ आयुर्वेद चिकित्सक बिमल शाहले आयुर्वेदिक जीवनशैली, स्वस्थ खानपान, दैनिक आहार–विहार, ऋतुअनुसारको जीवनशैली, योग, ध्यान, प्राणायाम, नियमित व्यायाम तथा प्राकृतिक उपचार पद्धतिबारे सहजीकरण गर्नुभयो। उहाँहरूले बिहान चाँडै उठ्ने, नियमित योग तथा ध्यान गर्ने, स्थानीय तथा पोषणयुक्त खाद्य पदार्थको सेवन गर्ने, प्रशोधित तथा जंक फुडको प्रयोग कम गर्ने तथा सन्तुलित जीवनशैली अपनाएमा मानसिक तनाव कम हुनुका साथै विभिन्न नसर्ने रोगबाट पनि बच्न सकिने बताउनुभयो।

कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका प्रधानाध्यापक, शिक्षक, सामाजिक अगुवा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मानसिक स्वास्थ्य तथा स्वस्थ जीवनशैलीसम्बन्धी यस्ता कार्यक्रम समुदायस्तरसम्म जनचेतना विस्तार गर्न प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।