पोखरा , ३ कात्तिक
गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३ जना पुरुष र नौ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
प्रतिवादीहरूबाट १२ वर्ष छ महिना आठ दिन कैद र १६ लाख ६६ हजार ९७२ बिगो असुल उपर भएको उहाँको भनाइ छ । चेक अनादर, बिगो लेनदन, बैङ्किङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारलगायत कसुरमा अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको छ । गत भदौ महिनामा ५६ जना फरार प्रतिवादी पक्राउ परेका थिए । कार्यालयले गत महिना चालु मुद्दामा ११२ जनालाई पक्राउ गरिएको जनाएको छ ।
असोजमा अपराधसँग सम्बन्धित १५९ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये जघन्य तथा गम्भीर अपराधका २५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका सात, आर्थिक अपराधका २४ र अन्य अपराधसँग सम्बन्धित १०३ मुद्दा दर्ता भएका छन् ।सोही अवधिमा सामाजिक हिंसाका ६९ वडा ठाडो उजुरी परेको प्रहरीले जनाइएको छ ।
