बागलुङ, १६ वैशाख
३०औँ राष्ट्रिय चिया दिवसका अवसरमा आयोजित ‘टि–टेस्टिङ’ (चियाको स्वाद परीक्षण) प्रतियोगितामा बागलुङको ताराखोला गाउँपालिका–१ सिरुबारीस्थित गोल्डेन टि–स्टेट प्रालि प्रथम भएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा मंगलबार काठमाडौँमा भएको उक्त प्रतियोगितामा गोल्डेन टि इस्टेटका ग्रिनिस अर्थोडक्स र गोल्डेन टि सर्वोत्कृष्ट ठहरिएको गोल्डेन टि–स्टेटका अध्यक्ष सरोज दाहालले बताउनुभयो । समुद्री सतहदेखि २२ सय मिटरदेखि २४ सय मिटरको उचाइमा फैलिएको उक्त चिया बगानबाट उत्पादित चिया गुणस्तरका दृष्टिले उत्कृष्ट ठहरिएको हो ।
चारवटा विधामा भएको चियाको स्वाद परीक्षण प्रतियोगितामा भारतका वरिष्ठ ‘टि टेस्टर’ कौषिक भट्टाचार्य र डेविड जोनसनका साथै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका वरिष्ठ चिया प्राविधिक नवीन कोइरालले चिया परीक्षण गरेका थिए । प्रतियोगितामा नेपालभरका ४५ चिया उद्योगका १२० नमूना परीक्षण गरिएको थियो । स्वादबाट गरिने चिया परीक्षणमा सुख्खा चियाको रूप, बासना, तातोपानी डुबाइसकेपछिको रूप र बासना तथा स्वादका आधारमा जाँचिएको थियो ।
प्रतियोगिताका बिजेताहरुलाई राष्ट्रिय चिया दिवसको मूल समारोहमा प्रमाणपत्र वितरण गरिएको थियो । वि.सं. २०७२ सालमा स्थापित गोल्डेन टि इस्टेट प्रालिले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा व्यवसायिक उत्पादन थालेको अध्यक्ष दाहालले बताउनुभयो ।
उहाँका अनुसार चार वर्षदेखि व्यावसायिक उत्पादन सुरु भएको छ । कम्पनीले ५६२ रोपनी जग्गा खरिद गरेर चिया खेती सुरु गरेको हो । विविध समस्याहरूको बाबजुद बोर्डको सहयोगमा चिया प्रशोधन सुरु गर्दा चियाको गुणस्तर अब्बल सावित भएपछि थप हौसला बढेको अध्यक्ष दाहालले बताउनुभयो । ताराखोलासहित बागलुङ नगरपालिकाको रेशलगायत ठाउँमा व्यावसायिक चिया खेती सुरु गरिएको छ ।
