• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

युवालाई स्वरोजगार बनाउन नेपाली खाना बनाउने तालिम

बागलुङ, १७ चैत्र

बागलुङमा युवालाई सीपयुक्त बनाउँदै स्वरोजगार उन्मुख गराउने उद्देश्यले नेपाली खाना बनाउने तालिम संचालन गरिएको छ । एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा सुरु गरिएको यो तालिम १५ दिनसम्म चल्नेछ ।

तालिम उद्घाटन कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का ले स्थानीय होटल तथा रेस्टुरेन्टहरूमा गुणस्तरीय सेवा विस्तार गर्न दक्ष जनशक्तिको आवश्यकता औंल्याए। उनले पोखरा र काठमाडौंका स्तरीय होटलसरह सेवा दिन सक्ने जनशक्ति उत्पादन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा होटल संघ गण्डकीका अध्यक्ष अर्जुन चोखाल ले होटलको स्तर केवल भौतिक संरचनाले मात्र निर्धारण नहुने उल्लेख गर्दै दक्ष जनशक्ति, सेवा गुणस्तर र आतिथ्य नै मुख्य आधार हुने बताए। उनले स्थायित्वका साथ काम गर्ने जनशक्ति अभाव रहेको भन्दै यस्तो तालिमले त्यसको पूर्ति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

एकीकृत सेवा कार्यालयका प्रमुख शिव शर्मा का अनुसार पछिल्लो समय ग्राहकहरू होटलको नामभन्दा पनि खानाको गुणस्तर हेरेर छनोट गर्ने प्रवृत्ति बढेको छ। त्यसैले तालिममा नेपाली परिकार पकाउने सीपसँगै सरसफाइ, प्रस्तुति र सेवासम्बन्धी आधारभूत कुराहरूमा पनि जोड दिइने उनले बताए।

कार्यालयले चालु आर्थिक वर्षमा छुट्याएको ५ लाख रुपैयाँ बजेटअन्तर्गत विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। तीमध्ये नेपाली खाना बनाउने तालिमका लागि १ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ, जसमा २० जना सहभागी छन्। तालिममा स्थानीय होटलका अनुभवी सेफहरूले प्रशिक्षण दिने व्यवस्था गरिएको छ।

यसै क्रममा कार्यालयले निकट भविष्यमा व्युटिसियन लगायत अन्य व्यवसायिक तालिमहरू पनि सञ्चालन गर्ने योजना बनाएको छ। युवालाई उद्यमशील बनाउँदै वैदेशिक पलायन घटाउने उद्देश्यले नगरपालिकासँगको सहकार्यमा यस्ता कार्यक्रम अघि बढाइएको कार्यालयले जनाएको छ।

कार्यक्रम कार्यालय प्रमुख शिव शर्मा को अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन श्याम थापा ले गरेका थिए। कार्यक्रममा विष्णुनाथ शर्मा ले स्वागत मन्तव्य राखेका थिए।