• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

मेलामा विद्यार्थीको स्टलको कमाइ अनुसन्धानमा खर्च गरिने

बागलुङ, १७ फागुन

चैत्राष्टमी मेलाका अवसरमा विद्यार्थीहरूले सञ्चालन गरेको फास्ट फुड सेन्टरबाट रु. २ लाख ४४ हजार बराबरको कारोबार भएको छ। चैत १० गतेदेखि १४ गतेसम्म कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा कालिका मन्दिर परिसरमा मेला सञ्चालन गरिएको थियो।

धौलागिरी बहुमुखी क्याम्पसमा बिबिए पाँचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले कक्षामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले फास्ट फुड सेन्टर सञ्चालन गरेका हुन्। समूहकी संयोजक रोजीता राजभण्डारी ले स्टल सञ्चालनबाट धेरै कुरा सिक्ने अवसर मिलेको बताइन्। “धेरै कुराको ज्ञान लिने मौका मिल्यो, सबैजनाबाट राम्रो प्रतिक्रिया पायौँ, यसले आगामी दिनमा पनि यस्ता कार्य गर्न हौसला मिलेको छ,” उनले भनिन्।

स्टलमा विशेषगरी नेवारी परिकार ‘एमरी’ र ‘चटामरी’प्रति ग्राहकहरूको बढी आकर्षण देखिएको स्मृती चापाँगाई ले जानकारी दिइन्। साथै मःम, चाउमिन, दहीपुरी, चटपट, आलुचिप्स लगायतका विभिन्न परिकारहरू पनि बिक्री गरिएको थियो।

विद्यार्थीहरूले खर्च कटाएर बाँकी बचत रकम सामाजिक कार्य तथा आफ्नो शैक्षिक रिसर्चमा लगानी गर्ने योजना बनाएका छन्। घरमै खाना बनाउने अनुभवका आधारमा स्टल सञ्चालन गरिएको उनीहरूको भनाइ छ।

समितिले विद्यार्थीहरूलाई निःशुल्क रूपमा स्टल उपलब्ध गराएको थियो। यसबारे भुपेन्द्र खड्का ले विद्यार्थीहरूले “केही सिकौँ” भन्ने उद्देश्यसहित अनुरोध गरेपछि आफूहरूले सहर्ष सहयोग गरेको बताए। “विद्यार्थी भाइबहिनीहरूको अध्ययन र सिकाइमा टेवा पुग्ने हेतुले हामीले स्टल निःशुल्क उपलब्ध गराएका हौँ,” उनले भने।

विद्यार्थीहरूले विभिन्न विभाग बनाएर कामको बाँडफाँड गर्दै समय तालिका अनुसार पालैपालो जिम्मेवारी सम्हालेका थिए। यसरी उनीहरूले व्यवहारिक सिकाइसँगै उद्यमशीलता र व्यवस्थापन सीपको अभ्यास गर्ने अवसर पाएका छन्।