पोखरा, १३ मङ्सिर
पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना अन्तर्गत पोखरा महानगरपालिका–२६ स्थित विजयपुर खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । उक्त सडक योजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार आगामी दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई तिव्रता दिइएको छ ।
शनिबारदेखि पुलमा ‘गिर्डर लन्चिङ’को काम भइरहेको उहाँले बताउनुभयो । “अहिलेसम्म चारवटा गिर्डर लन्चिङ भइसकेको छ, अझै ११ वटा गिर्डर लन्चिङ गर्न बाँकी छ”, प्रमुख कुँवरले भन्नुभयो, “गिर्डर लन्चिङपछि पुलको स्लाब र दुर्वतर्फको सडक ढलान हुन्छ ।” आउँदो बिहीबार सम्मलाई बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक बन्द गरेर ‘गिर्डर लन्चिङ’को काम गरिएको हो ।
सडक ठेक्काअन्तर्गत उक्त पुल निर्माणको काम भइरहेको हो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको छ । यस खण्डमा विजयपुर खोलासँगै सेती नदीमा पनि पुल निर्माण भइरहेको छ । पोखरा–९ र १० लाई जोड्ने गरी सेती नदीमा निर्माणाधीन उक्त पुलको भौतिक प्रगति ५३ प्रतिशत पुगेको प्रमुख कुँवरले बताउनुभयो ।
गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएको उक्त पुलको प्रगति न्यून देखिएको हो । विसं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चारवटा जगको काम पूरा भइसकेको छ । चारवटा टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको प्रमुख कुँवरले जानकारी दिनुभयो ।
छ लेनको उक्त सडकका अहिले रहेको चाइना पुलको तल र माथि गरि आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्ने उहाँको भनाइ छ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो ।
सडक स्तरोन्नतिसँगै विभिन्न ठाउँमा पुल निर्माण भइरहेका हुन् । आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । “पश्चिम खण्डमा विजयपुर खोला र सेती नदी पुल मात्र निर्माणको चरणमा छ, अन्य पुल बनेर पनि सञ्चालनमा आइसकेका छन्”, प्रमुख कुँवरले भन्नुभयो ।
पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड निर्माण यसै आवभित्र सक्ने लक्ष्य लिइएको छ । हालसम्म उक्त सडकको भौतिक प्रगति झण्डै ६१ प्रतिशत र वित्तिय प्रगति ५० प्रतिशत पुगेको प्रमुख कुँवरले बताउनुभयो । कुल ३८.८८ किमि दुरीको उक्त खण्डमा हालसम्म ३७.४ किमिमा एकतर्फी पहिलो तहको कालोपत्र, २९.६१ किमिमा दुईतर्फी (चार लेन) र ७.७९ किमि सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको जनाइएको छ ।