• २०८३ मंसिर ७, आइतबार
  • 2026 November 22, Sunday
  • Unicode Converter

हरिबोधनी एकादशी मेला : भलिबलको उपाधि गलकोटलाई

बागलुङ, ६ मंसिर
हरिबोधनी एकादशी मेला २०८३ को अवसरमा आयोजना गरिएको खुला पालिकास्तरीय पुरुष भलिबलको उपाधि गलकोटले जितेको छ ।

आईतबार भएको फाइनल खेलमागलकोट नगरपालिकाको नरेठाँटी भलिबल गलकोटले जैमिनी नगरपालिकालाई ३–१ ले हराउँदै उपाधि हात पारेको हो । फाइनल खेलको पहिलो सेट गुमाएको गलकोटले उत्कृष्ट पुनरागमन गर्दै ३—१ को जित निकाल्न सफल भएको हो ।

भलिबलको उपाधि जितेको नरेठाँटी भलिबल गलकोटले नगद एक लाख ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको जैमिनी नगरपालिकाले नगद एक लाख ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

त्यस्तै तेस्रो भएको कुस्मा नगरपालिकाले नगद ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना भएको बागलुङ नगरपालिकाले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गर्‍यो । विजेता, उपविजेता, तृतीय र सान्त्वना स्थान प्राप्त खेलाडी र टिमलाई ज्येष्ठ नागरिक ९५ वर्षीय कृष्णलाल शाक्य र मेला व्यवस्थापन समितिका पदाधिकारीले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताभर अनुसासित रहँदै उत्कृष्ट खेल प्रदर्शन गर्नुभएका नरेठाँटी भलिबल गलकोटका खेलाडी कुस्मन थापा मगरलाई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित गर्दे नगद ५ हजार पुरस्कार प्रदान गरिएको छ ।

विधागत पुरस्कार तर्फ जैमिनीका विधान रोका उत्कृष्ट स्पाईकर, नरेठाँटी भलिबल गलकोटका पाण्डप पुन उत्कृष्ट सेटर, जैमिनीका शंकर विश्वकर्मा उत्कृष्ट मिडिल ब्लकर, नरेठाँटीका मनिष श्रीसमगर उत्कृष्ट डिफेन्डर, नरेठाँटीका प्रकाश सुनार उत्कृष्ट सर्वर, उत्कृष्ट कोच नरेठाँटी भलिबलका बमबहादुर खत्री र उदयमान खेलाडी जैमिनीका शिव रसाइली घोषित भएको रेफ्री संयोजक किशोर थापाले बताउनुभयो ।

विद्यागत रुपमा उत्कृष्ट खेलाडी र टिम कोचलाई जनही नगद दुई हजार पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिएको छ । निरयघाट मानवसेवा धाम विकास समिति बागलुङ र हरिबोधनी एकदशी मेला व्यवस्थापन समितिको संयुक्त आयोजनामा मेला आयोजना गरिएको हो ।