• २०८३ मंसिर ७, आइतबार
  • 2026 November 22, Sunday
  • Unicode Converter

आरयू फेस्ट : फोहरप्रतिको सोच बदलिदिने उत्सव

पोखरा, ५ मंसिर
फोहर भन्दासाथ झट्ट फाल्ने र नष्ट गर्ने वस्तुका रुपमा सम्झिइन्छ । फोहरप्रतिको यो परम्परागत बुझाइलाई बदल्न सकेमा फोहरबाट मोहर बनाउन सकिन्छ भन्ने उदाहरण पोखरामा आयोजित ‘आरयू फेस्ट–२०२६’ बनेको छ ।
दुईदिनसम्म चलेको यस उत्सवले फोहरमा आधारित उद्यमशीलता प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको आयोजक पोखरा महानगरपालिकाले जनाएको छ । फोहरका रुपमा फालिएका र प्रयोगविहीन वस्तुको सङ्कलन, प्रशोधन तथा पुनःप्रयोगबाट उद्यम विकाससँगै रोजगारी सिर्जनातर्फ अभिप्रेरित गर्ने उद्देश्यले बुधबार र बिहीबार ‘आरयू फेस्ट’ सञ्चालन गरिएको हो ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइकिलिङ र अपसाइकिलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’अन्तर्गत आयोजित दोस्रो संस्करणको उक्त उत्सवमा आरयू उद्यमका उत्पादनको प्रर्दशनी तथा बिक्री, अपसाइकल फेसन शो, नाटक मञ्चन, आरयू खजना दौड, अन्तरक्रियात्मक खेल, कला प्रस्तुति, प्रयोगात्मक कार्यशालालगायत सिर्जनात्मक गतिविधि सञ्चालन गरिए ।
‘फोहरलाई नयाँ दृष्टिकोणबाट हेरौँ, यसको मूल्य पहिचान गरौँ र पोखराको भविष्यलाई चक्रीय बनाऔँ’ भन्ने सन्देशका साथ आयोजना गरिएको उक्त उत्सवले फोहरप्रतिको आफ्नो सोच बदलिदिएको अवलोकनकर्ताले प्रतिक्रिया दिएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटका सूर्यप्रसाद तिमिल्सिनाले फोहरको सदुपयोग सम्बन्धी ज्ञान, सीप, प्रविधि, नवप्रर्वतन आदि हेर्न तथा बुझ्न आरयू फेस्टले सघाएको बताउनुभयो ।
“हरेक व्यक्ति र परिवारमा यसरी नै सचेतना पु¥याउन सकियो भने घरघरबाट निस्कने फोहरमा धेरै कमी आउँछ”, उहाँले भन्नुभयो, “यस्तो उद्यममा लागेकाहरुलाई प्रोत्साहित गर्ने नीति राज्यले ल्याउनुपर्छ ।” एसओएस हर्मन माइनर विद्यालय गण्डकीमा कक्षा १० मा अध्ययनरत छात्रा ग्रिष्मा चिलुवालले आरयू फेस्टले फोहरप्रतिको पुरानो सोच परिवर्तन गर्न सबैलाई झक्झकाएको बताउनुभयो ।
“फोहर भन्ने बित्तिकै फरक ढङ्गले हेर्ने गरिन्छ, यसप्रति नकारात्मक सोचाइ छ”, उहाँले भन्नुभयो, “तर यहाँ आएपछि फोहरलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर धेरै कुरा सिक्न र बुझ्न पाइयो ।” पुरानो पत्रिकाबाट सीसासाकलम उत्पादन गर्दै आउनुभएकी उद्यमी सिर्जना तिवारीले आफ्नो उत्पादनको प्रदर्शनीसँगै बजारीकरणका लागि आरयू फेस्ट महत्वपूर्ण माध्यम बनेको बताउनुभयो ।
आफूसहित पाँच जना महिला मिलेर डेढ वर्षदेखि ‘पोखरेली सीसाकलम’ उद्यम सञ्चालन गर्दै आएको उहाँले सुनाउनुभयो । “पढीसकेर खेर जाने पत्रिकालाई पुनःप्रयोग गरेर सीसाकलम उत्पादन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “स्टेशनरी पसल, विद्यालय र होटलबाट माग आउने गरेको छ, बजारमा पाइने अन्य सीसाकलमभन्दा मूल्य केही बढी छ ।”
आरयू फेस्टमा फोहर र काम नलाग्ने भनेर फालिएका प्लाष्टिक, बोतल, कपडा, कागज जस्ता वस्तुलाई रिसाइकल र अपसाइकल गरी तयार पारिएका आकर्षक अनि मूल्यवान सामग्री बिक्री तथा प्रदर्शनीमा राखिएको थियो । फोहरबाट बनाइएका खेलौनादेखि ‘इको–ब्रिक’सम्मका सामग्रीले उक्त उत्सवको महत्व झल्काएको थियो ।
अपसाइकल फेसन शोदेखि नाटकसम्म
आरयू फेस्ट फोहरमा आधारित उद्यमबाट उत्पादित वस्तुको प्रदर्शनीमा मात्र सीमित थिएन । दिगो फोहोर व्यवस्थापनका उपाय, चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरण जस्ता विषयमा अपसाइकल फेसन शोदेखि नाटकसम्मका सिर्जनात्मक क्रियाकलाप गरिएका थिए । पुराना र खेर फालिएका कपडाबाट बनेका पहिरनमा सजिएर युवायुवतीले बिरालो चाल ‘क्याटवाक’को शैलीमा गरेको अपसाइकल फेसन शोले धेरैको ध्यान खिचेको थियो । सङ्गीत, मञ्च र बत्तीको संयोजनले उक्त दृश्यलाई झनै आकर्षक तुल्याएको थियो ।
विद्यार्थीदेखि मुख्यमन्त्रीसम्मले रुचीपूर्वक उक्त फेसन शोलाई अवलोकन गरेका थिए । प्रयोग भइसकेका कपडा र अन्य सामग्रीको पुनःप्रयोग गरि तयार पारिएका पोसाक, झोलालगायत सामग्री प्रदर्शनका लागि अपसाइकल फेसन शो आयोजना गरिएको हो । पोखरा थिएटरको प्रस्तुतिमा ‘आरयू’ नाटक मञ्चन र बालबालिकामा फोहर व्यवस्थापन, पुनःप्रयोग र वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको कथापुस्तक पनि विचोचन गरिएको थियो ।
आरयू फेस्टमा सहभागी गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फोहरलाई केबल बिर्सजन गर्नुपर्ने वस्तुका रुपमा हेर्ने परम्परागत सोच ‘आरयू फेस्ट’ले परिवर्तन गरेको बताउनुभयो । “फोहरलाई समस्याका रुपमा नहेरी त्यसमा रहेका आर्थिक, सामाजिक र वातावरणीय सम्भावनाहरुको पहिचान गर्दै पुनःप्रयोग र पुनःप्रशोधनमार्फत नयाँ उत्पादन, रोजगारी सिजर्ना, उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा सञ्चालित परियोजनाको अभिन्न अङ्ग यो आरयू फेस्ट पनि हो”, उहाँले भन्नुभयो ।
विश्वले सामना गरिरहेको प्रमुख वातावरणीय चुनौतीमध्ये फोहर व्यवस्थापन पनि एउटा रहेको उल्लेख गर्दै उहाँले प्राकृतिक स्रोतको संरक्षण, स्थानीय उद्यमशीलताको विकास र  रोजगारी सिर्जनाका लागि फोहरको पुनःप्रयोग तथा पुनःप्रशोधन गरी फोहरलाई मोहरमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल तथा अपसाइकल उद्यमलाई बजारसम्म पहुँच र बिक्रीका अवसर उपलब्ध गराउने उद्देश्यले ‘आरयू फेस्ट’को आयोजना गरिएको बताउनुभयो ।
यस मेलाबाट फोहरलाई रिसाइकिलिङ र अपसाइकिलिङ गर्ने उद्यमी, पर्यटन क्षेत्र, निजी कम्पनी तथा आम नागरिकबीच सम्बन्ध र सहकार्य विस्तार गर्न सहयोग पुगेको उहाँको भनाइ छ । “फोहरलाई हेर्ने सोच र दृष्टिकोणलाई बदल्दै यसको पुनःप्रयोग र पुनःप्रशोधनमार्फत नयाँ उत्पादन, रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्र निर्माण गर्नु जरुरी छ”, महानगर प्रमुख आचार्यले भन्नुभयो । फोहरको दिगो व्यवस्थापनसँगै जिविकोपार्जनमा सुधार, स्थानीय उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना र वातावरणीय संरक्षणका लागि परियोजना सञ्चालन गरिएको उहाँको भनाइ छ ।
परियोजनाका सहजकर्ता नेत्र तिमिल्सिनाका अनुसार दोस्रो संस्करणको आरयू फेस्टमा रिसाइकिलिङ र अपसाइकिलिङसँग सम्बन्धित उद्यमका ४२ वटा बिक्री तथा प्रदर्शनीकक्ष राखिएको थियो । फोहरलाई व्यवस्थापन गर्नुपर्ने समस्याका रूपमा मात्र नभई पुनःप्रयोग र प्रशोधनमार्फत आर्थिक तथा वातावरणीय मूल्य सिर्जना गर्न सकिने स्रोतका रूपमा स्थापित गर्न आरयू फेस्टले महत्वपूर्ण सन्देश दिएको उहाँको भनाइ छ ।
परियोजनमार्फत प्रयोग गर्ने र फाल्ने अभ्यासको सट्टा चक्रीय अर्थतन्त्र प्रणालीमा आधारित रिसाइकिलिङ तथा अपसाइकिलिङ उद्यम स्थापनामा जोड दिइएको उहाँले बताउनुभयो । उक्त परियोजनाअन्तर्गत तीन हजार जनालाई प्रत्यक्ष रोजगारीमा जोड्ने लक्ष्य लिइएको छ । पोखरामा हाल रिसाइकलिङ र अपसाइकलिङमा आधारित २३ वटा उद्यम तथा व्यावसाय सञ्चालनमा रहेका छन् । त्यस्ता उद्यमीलाई परियोजनामार्फत प्राविधिक तथा उपकरण सहयोग गर्ने गरिएको सहजकर्ता तिमिल्सिनाले बताउनुभयो ।
परियोजनाअन्तर्गत पोखरा प्रदर्शनी केन्द्रमा निर्माणाधीन ग्रिन भेन्चर जोनलाई रिसाइकलिङ र अपसाइकलिङको सिकाइ केन्द्रका रुपमा विकास गरिने भएको छ । उक्त केन्द्रबाट उद्यमीहरूले व्यवसाय परामर्श, प्रशिक्षण, व्यवसाय प्रवद्र्धन तथा बजार पहुँच विस्तारका लागि अवसर प्राप्त गर्ने महानगरले जनाएको छ । आरयू उद्यममार्फत स्थानीय स्तरमै फोहरलाई मूल्यवान् स्रोतका रुपमा रूपान्तरण गर्दै चक्रीय अर्थतन्त्रलाई सुदृढ बनाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने र दिगो हरित आर्थिक विकासमा योगदान पुग्ने विश्वास लिइएको छ । –