• २०८३ मंसिर ७, आइतबार
  • 2026 November 22, Sunday
  • Unicode Converter

अदालतले कार्यकर्ताको भावनाअनुसार न्याय दिने देउवाको विश्वास

बागलुङ, ५ मंसिर

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवादमा सर्वोच्च अदालतले कांग्रेसका कार्यकर्ताको भावना र चाहनाअनुसार न्याय दिने विश्वास व्यक्त गर्नुभएको छ।

शुक्रबार बागलुङमा नेपाली कांग्रेसको नियमित १५औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै देउवाले पार्टी विवादबारे बोल्दै सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गर्नुभएको हो।

उहाँले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। पार्टी एकताबद्ध भए आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन सक्ने भन्दै उहाँले कार्यकर्तालाई एकजुट भएर संगठन निर्माणमा लाग्न निर्देशन दिनुभयो।

कांग्रेसको संगठन निर्माणमा बागलुङले पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँले पार्टीको एकतामा जोड दिनुभयो।

आफ्नो राजनीतिक जीवनको चर्चा गर्दै देउवाले देश र जनताले आफूलाई पाँच पटक प्रधानमन्त्री बन्ने अवसर दिएको बताउनुभयो। देश र जनताबाट आफूले धेरै कुरा पाइसकेको उल्लेख गर्दै अब बाँकी जीवन लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि समर्पित गर्ने उहाँको भनाइ थियो।

“यो देश र जनताले मलाई धेरै कुरा दिनुभएको छ। अब मेरो बाँकी जीवन लोकतन्त्र र गणतन्त्रको रक्षामा समर्पित गर्छु,” उहाँले भन्नुभयो।