बागलुङ, २३ कात्तिक
विद्यामन्दिर पुस्तकालय, बागलुङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाएको छ । जयन्तीका अवसरमा आइतबार प्रतियोगितात्मक कविता गोष्ठीसहित कविताकृति विमोचन गरिएको पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।
कविता गोष्ठीमा स्रष्टा गोविन्दप्रसाद सुवदीले प्रथम र विजया शर्माले द्वितिय स्थान हासिल गर्नुभएशो थियो । विजेता स्रष्टालाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । गोष्ठीमा विभिन्न स्रष्टाले अप्रतियोगी रचना पनि पाठ गरेका थिए । सोही समारोहमा स्रष्टा प्रमेश कँडलको अङ्ग्रेजी कविता सङ्ग्रह ‘सोलफूल साइलेन्स’को विमोचन गरिएको थियो ।
समारोहका प्रमुख अतिथि पुस्तकालयका पूर्वअध्यक्ष राजन शाक्य, साहित्य उपसमितिका संयोजक काजी रोशन, धवलागिरि बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्राडा रामप्रसाद उपाध्यायलगायतले महाकवि देवकोटाको व्यक्तित्व र योगदानबारे परिचर्चा गरेका थिए ।
विमोचित कविताकृतिमाथि प्रमेश्वर अच्युत दास र गणेशप्रसाद शर्माले टिप्पणी गर्नुभएको थियो । गोष्ठीमा वाचित कतिपय रचना महाकवि देवकोटाप्रति समर्पित थिए भने कतिपय समसामयिक मुद्दामा केन्द्रित थिए । भिन्दाभिन्दै भाव र कोणबाट रचनाकारले महाकविको स्मरण गरे, श्रद्धा प्रकट गरे ।
वक्ताहरुले महाकवि देवकोटालाई नेपाली साहित्यका विराट र विलक्षण प्रतिभाका रुपमा स्मरण गरेका थिए । विभिन्न विधामा अमर कृति दिएर देवकोटाले नेपाली साहित्यलाई समृद्ध तुल्याएको उनीहरुको भनाइ थियो ।
पुस्तकालयले बर्सेनि देवकोटा जयन्ती पारेर काव्य गोष्ठीसहित परिचर्चा कार्यक्रम राख्ने गरेको छ । विसं २००३ मा खुलेको सो पुस्तकालयले स्थापनाको सुरु देखि नै देवकोटा जयन्ती मनाउँदै आएको छ । विसं २०६२ मा देवकोटा जयन्ती संयोजन उपसमिति नै बनाएर जयन्तीलाई व्यवस्थित रुपमा मनाउन सुरु गरिएको थियो ।
