• २०८३ मंसिर ७, आइतबार
  • 2026 November 22, Sunday
  • Unicode Converter

यमपञ्चकको तेस्रो दिन आज गाईको पूजा

यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी ‘गौमाता’का रूपमा सम्मान र पूजा गर्ने परम्परा रहिआएको छ ।

तिहारको औँसीको दिन आज गाईलाई धनकी देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरी घरमा सुख, शान्ति, शुभता र समृद्धिको कामना गरिन्छ । ऋग्वेद र अथर्ववेदमा गाईलाई धन, स्वास्थ्य र समृद्धिको प्रतीक तथा मातृ स्वरूप सम्मानयोग्य प्राणीका रूपमा व्याख्या गरिएको छ । गाईको शरीरमा सम्पूर्ण देवीदेवताको वास हुने धार्मिक विश्वास छ ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले पनि गाईलाई मातृ स्वरूप मानिएको हो। पूजा तथा धार्मिक अनुष्ठानहरूमा गाईको दूध, गोबर र गोमूत्रबाट पञ्चगव्य बनाउने गरिन्छ। आजको दिन गाईलाई पूजा गरी मीठा परिकार खान दिनाले घरपरिवारमा सुख र समृद्धि प्राप्त हुने जनविश्वास छ। साथै, साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले वैतरणी नदी तारिदिने धार्मिक मान्यतासमेत रहेको छ ।

भगवान् श्रीकृष्णको जीवन पनि गाई र गोपाल संस्कृतिसँग अभिन्न रूपमा जोडिएकाले हिन्दु समाजमा गाईप्रतिको श्रद्धा उच्च रहेको पाइन्छ। गाईपूजाले मानिसमा पशुप्रति दया, माया र संरक्षणको भावना विकास गराउन प्रेरित गर्दछ ।

यस्तो छ पूजाविधि र आवश्यक सामग्री

गाई पूजाका लागि दियो, घिउ वा तेल, बत्ती, धूप, अगरबत्ती, फूल–फूलमाला, अक्षता, चन्दन, अबिर, केशरी, जल, पञ्चामृत, फलफूल, मिठाई, नैवेद्य, दुबो, कुश, सफा कपडा, आरतीका लागि कपुर तथा गाईलाई खुवाउन हरियो घाँसको व्यवस्था गरिन्छ ।

पूजा गर्दा सर्वप्रथम गाई बाँधिएको गोठ वा पूजास्थल सफा गरी गाईको शरीर सफा पानीले पुछिदिने वा नुहाइदिने गरिन्छ । त्यसपछि पूजा सामग्री व्यवस्थित गरी पूर्व वा उत्तर दिशातर्फ फर्केर दियो बाल्दै सर्वप्रथम भगवान् गणेशको स्मरण गरेर सङ्कल्प, पूजा, आरती तथा नैवेद्य अर्पण गरी विधिपूर्वक गाईको पूजा सम्पन्न गरिन्छ ।