पोखरा, २० कात्तिक
पोखरा महानगरपालिकाले तिहार पर्वलाई लक्ष्य गरी सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार सयपत्री फूलको बिक्रीवितरणका लागि पोखराका १७ स्थान तोकिएको छ ।
त्यस्तै सयपत्री फूलको प्रतिकिलो रु। पाँच सय र प्रतिमाला रु। दुई सय मूल्य कायम गरिएको उहाँले जानकारी दिनुभयो । आगामी आइतबारदेखि लागू हुने गरी पोखरा महानगरपालिका–१ को देवी पञ्चाङ्ग ज्येष्ठ नागरिक मिलन केन्द्र, टुँडीखेलको पुरानो वडा कार्यालय, पोखरा–२ स्थित सङ्गमचोक कृषि बजार चौतारी, पोखरा–५ को वडा कार्यालय परिसर, ६ नं. वडाको सुलभ उपभोक्ता सहकारी संस्था लि., वडा नं. ९ स्थित महेन्द्रपुलको फल्चालाई सयपत्री फूलको बिक्रीवितरणस्थलका रुपमा तोकिएको हो ।
यसैगरी पृथ्वीचोकस्थित पोखरा कोशेली घर, पोखरा–९ को सिद्धार्थचोक चौतारी, १० नं. वडाको पोखरा रङ्गशाला, वडा नं. १३ को किसान बजार, वडा नं. १४ को कार्यालय परिसर, वडा नं.१५ को किसान बजार, वडा नं. १६ र १९ को ठूलीपोखरी किसान बजार, वडा नं. १७ विरौटाको किसान बजार, पोखरा–३० खुदीको किसान बजार, वडा नं. ३१ को कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. र वडा नंं. २७ तालचोकको कृषि उपज थोक बजारलाई सयपत्री फूलको बिक्रीस्थल तोकिएको हो ।
सरोकार भएका पक्षहरुको समन्वयमा बिक्रीस्थल र फूलको गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको आर्थिक महाशाखा प्रमुख कडरियाले बताउनुभयो । स्थानीय उत्पादनको प्रवद्र्धनका लागि महानगरले तिहार पर्वमा प्लाष्टिकजन्य फूलको माला बिक्रीवितरण नगर्न सम्बन्धित व्यवसायीहरुमा आग्रहसमेत गरेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीमा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायीले पोखरामा फूल उत्पादन र बिक्रीवितरण गर्दै आएका छन् ।
पुष्प व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउन पोखरा महानगरको प्रवद्र्धनमा एसोसिएसनले तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’को पनि आयोजना गरेको छ । बुधबारदेखि सुरु भएको प्रदर्शनीमा फूल अवलोकन मात्र नभएर किनमेलका लागि सर्वसाधारणको भीड लागेको एसोसिएसनले जनाएको छ । प्रदर्शनीले फूल उत्पादक किसान, व्यवसायी र उपभोक्तालाई एकैथलोमा ल्याएको हो ।
स्थानीय फूल उत्पादक किसानलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रुपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सृजनाका लागि प्रदर्शनी आयोजना गरिएको एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीले बताउनुभयो । प्रदर्शनीमा फूलका २२, कृषि सामग्रीका तीन र सूचनामूलक एक गरी २६ प्रदर्शनीकक्ष रहेका छन् । पुष्प व्यवसायको विस्तार तथा बजार प्रवद्र्धन गर्ने उद्देश्यले विगत केही वर्षदेखि पोखरामा पुष्प प्रदर्शनीको आयोजना हुँदै आएको छ ।
