• २०८३ कार्तिक १२, बुधबार
  • 2026 October 28, Wednesday
  • Unicode Converter

असोज महिनामा ३३ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे

पोखरा, १० कात्तिक

गत असोज महिनामा ३२ हजार नौ सय ६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार छ सय ४५ र अन्य देशका २० हजार तीन सय १८ पर्यटक रहेका छन् ।

गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष दुई हजार चार सय १६ पर्यटक बढी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताउनुभयो । गत वर्ष असोजमा ३० हजार पाँच सय ४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । आव २०८३/०८४ लागेयता सबैभन्दा बढी पर्यटक असोजमा भित्रिएका हुन् । भदौमा १७ हजार नौ सय १३ र साउनमा २६ हजार पाँच सय ९१ पर्यटक आएका थिए ।

असोज-कात्तिक मुख्य पर्यटकीय याम भएकाले योबेला पर्यटक आगमन बढ्ने गरेको आयोजना प्रमुख डा कडरियाको भनाइ छ ।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ। सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन् । शरद याम पदयात्राका लागि उत्तम मानिने हुँदा यस क्षेत्र पदयात्रा रूचाउने पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

यो याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ ।
आयोजना प्रमुख डा कडरियाका अनुसार अनुसार दसैँ र तिहारको बीचमा पदयात्रामा जाने बढी हुन्छन् । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले यस क्षेत्रलाई पर्यटकले रूचाउने गरेका हुन् ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।