पोखरा, ९ कार्तिक
उसै त शरद यामको घमाइलो दिन । त्यहीँमाथि दसैँको उल्लास । कोही लिङ्गे पिङमा मच्चिरहेका थिए त कोही चर्खे पिङमा । दसैँको अन्तिम दिन आइतबार कोजाग्रत पूर्णिमामा पोखरा, फेवा किनारस्थित बाराहीघाटको दृश्य बेग्लै थियो । रातो टीका र जमरामा सजिएका विदेशी पर्यटक नेपाली संस्कृति र खानपानमा रमाइरहेका देखिन्थे । मालश्री धुन र मौलिक बाजाको तालले पर्वमय माहोलको छनक दिन्थ्यो ।
महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ०द्वारा आयोजित ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ले बाराहीघाट आइतबार दिनभर जसो उत्सविलो बन्यो । नेपाली संस्कृति र पर्यटनलाई जोड्ने गरी मञ्चले पहिलोपटक आयोजना गरेको उक्त महोत्सवसँगै दसैँको मैझारो भयो । ‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने आदर्श वाक्यसहित आयोजना गरिएको महोत्सवमा विदेशी पर्यटकले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतको हातबाट टीका र जमारा लगाएका थिए ।
पोखरा घुम्न आएका पर्यटकले नेपाली पर्व दसैँको अनुभव बुटले । नेपाली परिकारको स्वाद लिए । एकापसमा रमाए । नेपाली संस्कृतिबारे सुनेरपढेका विदेशी पर्यटक मौलिक सांस्कृतिक पर्वमा प्रत्यक्ष सामेल हुन पाएकामा खुसी थिए । महिला समूहले बनाएका सेल रोटीलगायत परिकार चाख मानेर खाइरहेका थिए ।
महेत्सवमा विभिन्न महिला समूहहरुद्वारा उत्पादित कृषि उपज र खानाका परिकारहरु बिक्रीका लागि राखिएको थियो । दसैँको सांस्कृतिक र पारिवारिक माहोललाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक उमा भण्डारीले बताउनुभयो । दसैँलाई पारिवारिक पर्वमा मात्र सीमित नराखी विदेशी पर्यटकलाईसमेत नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोड्ने अवसरका रूपमा यो महोत्सव लिनुपर्ने उहाँको भनाइ छ ।
महोत्सवमा विदेशी पर्यटकलाई नेपाली संस्कृति, परम्परा र खानपान चिनाउनुका साथै विभिन्न जातजाति र समुदायका मौलिक सांस्कृतिक प्रस्तुति देखाइएको थियो । महोत्सवमा विभिन्न पर्यटनसम्बद्ध सङ्घसंस्था, आमा समूह, स्थानीय समुदाय, सांस्कृतिक समूहलगायतको सहभागिता रहेको थियो । महोत्सवमा कबड्डी खेलकोसमेत आयोजना गरिएको थियो । महोत्सवस्थलमा नेपाली मौलिक खानाका परिकार, कला–संस्कृति, परम्परागत सामग्री, स्थानीय उत्पादन तथा पर्यटन सम्बद्ध व्यावसायिक गतिविधिलाई समेटिएको थियो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालको मौलिक संस्कृति पनि पर्यटनको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । कोजाग्रत पूर्णिमामा विदेशी पर्यटकसँग दसैँ मनाउने चलन बसाल्न महोत्सवलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ । उहाँले यस्ता मेला, महोत्यवसे पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले महोत्सवले पोखराको पर्यटनलाई संस्कृतिसँग जोडेको बताउनुभयो ।
उहाँले दसैँ गन्तव्यका रुपमा पोखराको पर्यटन तथा सांस्कृतिक महोत्सवलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दसैँ जस्ता ठूला चाडपर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । पोखरा भ्रमण आउने विदेशी पर्यटकलाई यहाँको प्राकृतिक सोन्दर्य मात्र नभएर संस्कृतिको अनुभव पनि दिलाउनुपर्ने उहाँको भनाइ छ ।
दसैँको सांस्कृतिक पक्षलाई विदेशी पर्यटकमाझ चिनाउन र नेपाली चाडपर्वलाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मञ्चका अध्यक्ष ममता न्यौपानेले बताउनुभयो । उहाँले आगामी वर्षमा पनि महोत्सवलाई निरन्तरता दिइने बताउनुभयो ।
