• २०८३ कार्तिक ६, बिहीबार
  • 2026 October 22, Thursday
  • Unicode Converter

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजश्व

पोखरा, ५ कात्तिक
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजश्व सङ्कलन हुने गरेको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र  मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने व्यवस्था छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्क बापत गत आवमा रु. २१ करोड ६९ लाख ९७ हजार पाँच सय सङ्कलन भएको थियो ।
उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका १८ सय ५५ पर्यटकबाट प्रतिव्यक्ति पाँच सय डलर र एकदिन भ्रमण गरेका २५ सय ६९ पर्यटकबाट प्रतिव्यक्ति रु. ५० डलर सङ्कलन भएको आयोजनाका प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो ।
त्यस्तै सात दिनको भ्रमण अनुमति लिएर मनाङको नार फू क्षेत्रमा प्रवेश गरेका १३ सय ३८ जना पर्यटकबाट प्रतिव्यक्ति रु. सय डलरका दरले प्रवेश शुल्क उठेको हो । निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत सङ्कलन हुने गरेको छ । अध्यागमन कार्यालयमार्फत उठ्ने निषेधित क्षेत्रको प्रवेश शुल्क सङ्घ सरकारको राजश्वमा जाने गरेको आयोजना प्रमखु डा कडरियाले बताउनुभयो ।
निषेधित क्षेत्रको भ्रमण गरेका विदेशी पर्यटकबाट प्रवेश शुल्कबापत आव २०८१÷०८२ मा रु. ३० करोड १७ लाख ५२ हजार, आव २०८०÷०८१ मा २३ करोड ८९ लाख ६६ हजार राजश्व सङ्कल भएको थियो । सरकारले तिब्बतसँग नाका जोडिएका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अधिकांश पर्यटक पदयात्राका लागि जाने गरेका छन् । निषेधित क्षेत्रबाहेक अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गरेका विदेशी पर्यटकबाट गत आवमा ६७ करोड ७५ लाख ९० हजार नौ सय ८६ रुपैयाँ राजश्व सङ्कलन भएको आयोजना प्रमुख डा कडरियाले जानकारी दिनुभयो ।
आयोजना कार्यालयले दक्षिण एसियाली मुलुकका पर्यटकबाट रु. एक हजार र अन्य मुलुकका पर्यटकबाट रु. तीन हजार (भ्याटसहित) प्रवेश शुल्क लिने गरेको छ । गत आवमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएपछि प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको हो ।
गत आवमा दक्षिण एसियाली मुुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ रहेका छन् गरी कुल पाँच लाख आठ हजार चार सय ७६ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए ।
तीमध्ये सबैभन्दा बढी तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक थिए । पर्यटक संख्यासँगै पर्यटक शुल्कबाट उठ्ने रकम पनि गत आवमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्कलन भएको हो । आव २०८१/०८२ मा पर्यटकको प्रवेश शुल्क बापत जम्मा रु. ४६ करोड ४८ लाख ८१ हजार चार सय ८४ सङ्कलन भएको थियो ।
आव २०८०/०८१ मा ३८ करोड ९४ लाख ६१ हजार चार सय ८३ पर्यटक शुल्क उठेको थियो ।  पर्यटक शुल्कलगायतबाट हुने आम्दानी संरक्षण गतिविधि र पर्यटन प्रवद्र्धनका कार्यक्रममा खर्च हुने गरेको आयोजना कार्यालयले जनाएको छ ।