पोखरा, ३० असोज
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथराइजेसन रिक्वायर्ड) प्रणाली लागू गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ ।
हाल यस विमानस्थलमा ‘भिओआररडिएमई’ तथा ‘आईएलएस’ प्रणालीमा आधारित हवाई उडान हुँदै आएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले ‘आरएनपी–एआर’ प्रणाली लागु भएपछि कम दृश्ययता (भिजिबिलिटी) हुँदा पनि हवाई उडान हुने बताउनुभयो ।
अहिले पोखरामा ३१०० मिटर दृश्यतामा विमान उडान तथा अवतरण भइरहेकामा उक्त प्रणाली लागू भएपछि २००० मिटर दृश्यतामा उडान हुने उहाँको भनाइ छ । “यो प्रणाको मुख्य फाइदा भनेको नै कम भिजिबिलिटीमा उडान अवतरण हुनु हो, यसबाट उडान रद्ध हुने, डाइभर्सन हुनेजस्ता समस्या कम हुन्छ”, उहाँले भन्नुभयो ।
आगामी चार महिनाभित्रमा उक्त प्रणाली कार्यान्वयनमा ल्याउने गरी प्राधिकरणले प्रकृया अगाडि बढाएको महाप्रबन्धक निरौलाले बताउनुभयो । उक्त प्रणाली संचालनका लागि जहाजमा पनि सोही अनुसारको उपकरण जडान गर्नुपर्ने र विमान चालकले तालिम लिनुपर्ने उहाँको भनाइ छ ।
यो प्रणाली कार्यान्वयनमा आएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान थप सहज हुने जनाइएको छ । आवश्यक प्राविधिक तथा नियमाकीय प्रकृया पूरा गरी उक्त प्रणाली कार्यान्वयनमा आउने प्राधिकरणले जनाएको छ ।
यसबाट हवाई उडान संचालनको सुरक्षा, नियमितता र पूर्वानुमानयोग्य उडान हुने विश्वास लिइएको छ । कम दृश्यताका कारण हवाई उडान संचालनमा आउने अवरोध न्यूनीकरण र यात्रुलाई थप भरपर्दो हवाई सेवा प्रदान हुने जनाइएको छ ।