बागलुङ, २० कात्तिक
जिल्ला प्रहरी कार्यालय, बागलुङले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुने गरी मर्यादित तथा अनुशासित रुपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ ।
देउसीभैलोका लागि राति १० बजेसम्मको समयसीमा तोकेको छ । प्रहरीले सार्वजनिक सूचना जारी गर्दै सडक, चोक, गल्ली, फुटपाथ तथा सार्वजनिक स्थानमा सवारी आवागमन र पैदलयात्रीलाई बाधा नपुग्ने गरी देउसीभैलो खेल्न आग्रह गरेको छ ।
यस्तै पटका, भुइँचम्पा, रकेट, आतिससबाजी तथा विस्फोटक पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरण र भण्डारणमा रोक लगाइएको प्रहरीे जनाएको छ । देउरीभैलो खेल्दा सर्वसाधारण, व्यवसायी तथा घरधनीसँग जबर्जस्ती रकम माग्ने, दबाब दिने, धम्क्याउने वा अभद्र व्यवहार गर्न नपाइने सूचनामा उल्लेख छ ।
कुनै विवाद, आगलागी वा शंकास्पद गतिविधि भएमा नजिकको प्रहरी कार्यालय वा हटलाईन नं. १०० मा सम्पर्क गर्न प्रहरी आग्रह गरेको छ ।
