बागलुङ, १७ कात्तिक।
बागलुङ बजारमा जुवा खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन्। बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सोमबार दिउँसो करिब ४ बजे जुवा खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले जुवाखाल र पक्राउ परेका व्यक्तिहरूको शरीरबाट एकमुष्ट एक लाख ६४ हजार ९२५ रुपैयाँ नगद र ४३८ पत्ती तास बरामद गरेकोजिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जनकारी दिनुभयो ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ का ४२ वर्षीय चिरञ्जीवी शर्मा, ६३ वर्षीय रिपोर्ट जिसी, ६४ वर्षीय अमर खड्का, ६६ वर्षीय भीमबहादुर खत्री, ५६ वर्षीय केशव पराजुली, ५५ वर्षीय राजु गौतम, ३५ वर्षीय हरि शर्मा, ६६ वर्षीय डम्मरबहादुर भण्डारी र ५० वर्षीय दुर्गाबहादुर खत्री रहेका छन्।
पक्राउ परेका नौ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको प्रहरीले जनाएको छ।
