बागलुङ, १७ कात्तिक।
नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरको १५औँ जिल्ला अधिवेशन आगामी मंसिर २ गते हुने भएको छ। सोमबार पत्रकार सम्मेलन आयोजना गरी अधिवेशनबारे जानकारी दिइएको हो।
केन्द्रीय सर्कुलरअनुसार कात्तिक १५ गते अधिवेशन गर्ने मिति तय भए पनि विशेष कारणले मंसिर २ गतेका लागि सारिएको जिल्ला संयोजक सागर छन्त्यालले जानकारी दिनुभयो। बागलुङ बजारमा हुने अधिवेशनमा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता रहने जनाइएको छ।
वडा, नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशनको तयारी थालिएको हो। अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ।
ज्ञानेन्द्र गौतमको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, केशव थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र नरेश कँडेलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको महाधिवेशन प्रतिनिधि ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो।
त्यस्तै, शिव आचार्यको संयोजकत्वमा यातायात व्यवस्थापन, यामबहादुर थापाको संयोजकत्वमा स्वयंसेवक तथा युवा परिचालन, लक्ष्मुमाया पुनको संयोजकत्वमा अतिथि सत्कार र राजनकुमार शाक्यको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन उपसमिति गठन गरिएको छ।
