• २०८३ कार्तिक २८, शुक्रबार
  • 2026 November 13, Friday
  • Unicode Converter

गण्डकीमा राजश्व व्यवस्थापनका लागि छुट्टै कार्यालय

पोखरा, १६ कात्तिक

गण्डकी प्रदेश सरकारले राजश्व सङ्कलन गर्ने निकायबीच समन्वय, अभिलेख व्यवस्थापन, करदाता सेवा अनुगमन तथा कार्यान्वयनका लागि राजश्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ । आर्थिक मामिला मन्त्रालयअन्तर्गत रहने उक्त कार्यालयले सोमबारदेखि औपचारिक रुपमा सेवा प्रवाह सुरु गरेको मन्त्रालयका प्रवक्ता उपसचिव गुमादेवी शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त कार्यालयले घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आयकर, सेवा शुल्क, दस्तुर, दण्डजरिवानालगायत प्रदेशको अधिकार क्षेत्रभित्रका राजश्वको सङ्कलन तथा व्यवस्थापनमा सहजीकरण गर्नेछ ।

त्यस्तै करदाता विवरण व्यवस्थापन, कर परिचालन, राजश्व चुहावट नियन्त्रण, करदाता सेवा, राजश्व सम्भाव्यता अध्ययन, स्थानीय तहसँग समन्वय र राजश्व प्रक्षेपणमा सहयोग गर्ने जिम्मेवारी तोकिएको छ ।

“राजश्वय व्यवस्थापन कार्यालयबाट सोमबारदेखि नै सेवा प्रवाह सुरु हुन्छ”, प्रवक्ता शर्माले भन्नुभयो, “मन्त्रालय परिसरमै रहेको भवनबाट कार्यालय सञ्चालनमा ल्याउन लागिएको हो ।” कार्यालय प्रमुखमा एघारौँ तहका दिनेशप्रकाश आचार्यलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

कार्यालयमा उपसचिव एक, प्रशासकीय अधिकृत एक, राजश्व अधिकृत दुई, वरिष्ठ लेखा सहायक एक, वरिष्ठ प्रशासन सहायक एक, वरिष्ठ राजश्व सहायक दुई, कम्प्युटर अपरेटर एक, हलुका सवारी चालक दुई र कार्यालय सहयोगी दुई गरी १४ जना कर्मचारी रहेका छन् ।

अतिरिक्त आर्थिक भार नपर्ने नगरी मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखा र प्रदेश लेखा नियन्त्रक कार्यालयका कर्मचारीमध्येबाटै उक्त कार्यालयमा कर्मचारी व्यवस्थापन गरिएको जनाइएको छ ।

मन्त्रालयअन्तर्गतको स्थानीय संरचनाका रुपमा राजश्व व्यवस्थापन कार्यालय रहने आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले बताउनुभयो । “मुख्य रुपमा प्रदेशभित्र राजश्व सङ्कलन गर्ने निकाय तथा कार्यालयहरुबीच प्रभावकारी समन्वयको काम यो कार्यालयले गर्नेछ”, उहाँले भन्नुभयो, “यस कार्यालयको स्थापनासँगै प्रदेशको आन्तरिक राजश्वय वृद्धि हुने अपेक्षा छ ।”

प्रदेश सरकारले लक्ष्य अनुसार राजश्व सङ्कलन गर्न सकेको छैन । प्रदेशको आर्थिक ऐनले तोकेका सबै क्षेत्रलाई राजश्वको दायरामा ल्याउन राजश्व व्यवस्थापन कार्यालयले समन्वयात्मक भूमिका खेल्ने मन्त्री शेरचनले बताउनुभयो ।

राजश्व सम्बन्धी नीतिगत र कार्यान्वयन तहका कार्यहरु एउटै संरचनामा केन्द्रित हुँदा कार्यबोझ बढ्ने भएकाले मन्त्रालयलाई नीतिगत र राजश्व व्यवस्थापन कार्यालयलाई कार्यान्वयन तहको जिम्मेवारी दिने गरी कार्यविभाजन गरिएको उहाँको भनाइ छ ।