• २०८३ मंसिर ७, आइतबार
  • 2026 November 22, Sunday
  • Unicode Converter

जातीय विभेदको आरोपमा वडा सदस्यसहित कर्मचारी पक्राउ

पोखरा, १५ कात्तिक

पोखरा महानगरपालिकाको १४ नं. वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी गङ्गा विकमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही वडाका सदस्य कृष्णहरि काफ्ले, कार्यालय सहयोगी अम्बिका भण्डारी र देवी विकलाई पक्राउ गरेको छ ।

कार्यालय सहयोगी गङ्गा विकले दिएको जाहेरीका आधारमा गत बिहीबार तीनै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । जिल्ला अदालत, कास्कीबाट सात दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

कार्यालय सहयोगी विकले कार्यस्थलमा आफूमाथि जातीय भेदभाव भएको भन्दै गत असोज २३ गते प्रहरीमा जाहेरी दिनुभएको थियो । जाहेरीमा उहाँले आफूलाई वडा कार्यालयको भान्सामा जान र खाना पकाउन नदिएको उल्लेख गर्नुभएको छ । प्रहरी नायब उपरीक्षक पासवानले जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार आरोपितहरुमाथि अनुसन्धान भइरहेको बताउनुभयो । – राम थापा