बागलुङ, १२ कात्तिक
धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिले बर्सेनि प्रदान गर्दै आएको ‘विमल गुरुङ कृति पुरस्कार’ यस वर्ष बागलुङका लेखक द्वय भूपिन खड्काको निबन्धकृति ‘मध्यको उज्यालो’ र जुनु रानाको ‘लाहुरेनी सौन्दर्य’लाई प्रदान गरिने भएको छ ।
पुस्तकालय व्यवस्थापन समितिको बुधबार बसेको बैठकले खड्का र रानाको निबन्धकृतिलाई संयुक्तरुपमा उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कारको राशि दुई लाख रुपैयाँ र ताम्रपत्र रहेको छ । विमल गुरुङ कृति पुरस्कारका लागि स्वदेश र विदेशका लेखक, कवि साहित्यकारहरुले लेखेका नेपाली भषाका ५२ कृति प्राप्त भएको र निर्णयक मण्डलले पहिलो श्रेष्ठ १० कृति छनौट गर्दै अन्तिममा तिनै कृतिहरु मध्ये दुई निबन्ध कृतिलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्बोले जानकारी दिनुभयो ।
पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार दुवै कृतिका लेखकलाई यही कात्तिक १९ गते पुस्तकालयमा आयोजना हुने विमल गुरुङको ५५औं जन्मजयन्ती तथा ३५ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा पुरस्कार र ताम्रपत्र प्रदान गरिने छ ।
उक्त अवसरमा पत्रकार तथा कवि प्रदीप मेन्याङ्बोद्वारा सम्पादित तथा संयोजित ‘विमल गुरुङका प्रतिनिधि कविताहरु’ कविता संग्रहको पनि लोकापर्ण गरिने भएको छ ।
उक्त अवसरमा पुस्तकालयले यसअघि छनौट गरेका उत्कृष्ट १० कविता मध्येबाट विजेता तीनजनालाई पनि पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो । कवितामा प्रथम, द्वितिय र तृतीयलाई क्रमशः नगद २१ हजार रुपैयाँ, १८ हजार रुपैयाँ र १७ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको हो ।
कविता महोत्सवमा विमल गुरुङ स्मृति पुस्तकालयले यो वर्षको युवा प्रतिभा सम्मान राष्ट्रिय समाचार समिति (रासस) का सुनसरी प्रतिनिधि संगीता राईलाई प्रदान गर्ने निर्णय गरेको छ ।
