बागलुङ, ११ कात्तिक
धवलागिरि प्रादेशिक अस्पताल बागलुङको सुदृढीकरण तथा स्तरोन्नतिका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर सबै तहका जनप्रतिनिधि र सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिइएको छ।
अस्पतालको सेवा विस्तार, विशेषज्ञ स्वास्थ्य सेवा, जनशक्ति व्यवस्थापन तथा शिक्षण अस्पतालका रूपमा विकास गर्न स्थानीय, प्रदेश र संघीय सरकारले समन्वय र सहकार्य गर्नुपर्नेमा जनप्रतिनिधिहरूले जोड दिएका हुन्।
अस्पतालको स्तरोन्नतिका लागि स्थानीय, प्रदेश र संघीय तहका जनप्रतिनिधिबीच मंगलबार आयोजित अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले अस्पताललाई कार्ययोजना बनाउन आग्रह गर्दै स्वास्थ्यजस्तो संवेदनशील विषयलाई राजनीतिक स्वार्थसँग नजोडी अस्पतालको विकासका लागि सबैले आ–आफ्नो तहबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा बागलुङका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, विभिन्न पालिकाका प्रमुख तथा अध्यक्ष, पर्वत र म्याग्दीका स्थानीय तहका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो।
प्रतिनिधिसभा सदस्य सुशील खड्काले धौलागिरि अस्पताललाई एमबीबीएस पढाइ हुने शिक्षण अस्पतालका रूपमा विकास गर्ने विषय आफूले संसद्मा उठाउँदै आएको बताउनुभयो। तत्कालीन धौलागिरि अञ्चलका नागरिकलाई सहज हुने गरी अस्पतालको सेवा विस्तार र स्तरोन्नति गर्नुपर्ने उल्लेख गर्दै उहाँले यसका लागि सबै पक्षले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रतिनिधिसभा सदस्य बलावती शर्माले धौलागिरि अस्पतालमा ट्रमा सेन्टर स्थापना, क्यान्सरलगायत जटिल रोगको उपचार सेवा विस्तार र आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। उहाँले मेडिकल कलेज स्थापना गर्न आवश्यक जग्गा, पूर्वाधार र जनशक्तिको व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै संघीय सरकारबाट समेत सहयोग जुटाउन पहल गर्ने बताउनुभयो।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री कृष्ण पाठक, प्रदेशसभाका सदस्यहरु दिपेन्द्रबहादुर थापा, कुशुम बुढा, जैमिनि नगरपालिकाका प्रमुख नरबहादुर पुनलगाएतले सुझाव राख्नुभएको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्मा र प्रमुख मेडिकल अधिकृत डा. किरण तिवारीले अस्पतालको हालको अवस्था र प्रदान भैरहेका सेवाको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
