• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

कुपोषित बालबालिकाको सहारा बनिरहेको पोषण पुन:स्थापना केन्द्र

 

बागलुङ, १८ भदौ

म्याग्दीको चिनाखेतकी माया रोका मगर धवलागिरि अस्पतालमा रहेको पोषण पुन:स्थापना केन्द्रमा बसेको तीन दिन भयो ।आफ्नी  एक वर्षीया छोरीको उमेर अनुसार तौल कम भएपछि उनले अस्पताल लिएर आएकी थिइन् । चिकित्सकले उनलाई छोरीलाई कुपोषण भएको सुनाए ।

“सुन्ने बित्तिकै डर त लागेको थियो, पछि डक्टर, नर्सले सम्झाउनुभयो, यहाँ आएपछि बच्चामा धेरै परिर्वतन आएको छ”, उनले भनिन्, “यहाँका स्वाथ्यकर्मी र कर्मचारीको व्यवहार पनि राम्रो छ, समयसमयमा खाना खुवाउनुहुन्छ, हामीलाई बनाउन, खुवाउन पनि सिकाउनु हुन्छ ।”

खाना खानै नमान्ने छोरीले अहिले नियमित खाना खान थालेको उनले सुनाइन् । तपाईंको घरपरिवार वा समुदायमा पनि कोही बालबालिकामा कुपोषणको यस्तै समस्या छ  यदि छ भने बागलुङस्थित धवलागिरि अस्पतालमा रहेको पोषण पुन:स्थापना केन्द्रमा ल्याइहाल्नुस् । तपाईं र तपाईँको बच्चाको लागि उक्त केन्द्र भरपर्दो सहारा बन्नेछ ।

केन्द्रले कुपोषणबाट गुज्रिरहेका बालबालिकाको वर्षौँदेखि निशुल्क उपचार गर्दै आएको छ । कुपोषित बालबालिकाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा पौष्टिक आहारसहित उपचार र हेरचाह पाउने गरेका छन् ।

१३ वर्षअघि स्थापित उक्त केन्द्रबाट गत आर्थिक वर्षमा  ८१ जना बालबालिकाले उपचार सेवा लिएको केन्द्रका पोषण अधिकृत निशान्त आचार्यले जानकारी दिए ।

उनका अनुसार सेवा लिनेमा ३ महिनादेखि ५ वर्षसम्मका बालबालिका छन् । अहिले चार जना बालबालिका उपचारत रहको उनले बताए । पछिल्लो समय धेरै बालबालिका जङ्कफुड’लगायत अस्वस्थकर खानाको कारणले कुपोषणको सिकार हुने गरेको पोषण अधिकृत आचार्यले बताए । “सन्तुलन मिलाएर खाना खुवाउन नजान्दा बच्चामा कुपोषण निम्तिन्छ”, उनले भने, “आजभोलि अभिभावक धेरै व्यस्त हुन्छन् छिटो र सजिलोका लागि बच्चालाई प्रशोधित र अस्वस्थकर खाना खुवाउनाले पनि बालबालिकामा कुपोषण देखिने गरेको छ ।” ग्रामिण भेगका भन्दा सहरी क्षेत्रका बालबालिकामा कुपोषणको समस्या बढी देखिन थालेको उनको भनाइ छ ।

कतिपय बालबालिकामा कुनै रोगको कारण कुपोषण हुने र कतिपयमा कुपोषणको कारण रोगहरु देखापर्ने गरेको भन्दै उनले कुपोषण आफैमा रोग नभएपनि यसले बालबालिकामा विभिन्न खालका रोगहरु निम्त्याउन सक्ने बताए ।

कुपोषित बच्चालाई केन्द्रबाट निशुल्क उपचार, रेखदेख र परामर्श सेवा दिने गरिएको छ । “अस्पतालको बालकक्षमा एकजना पोषण केन्द्रकै नर्स हुनुहुन्छ त्यहाँ बिरामी बच्चाको उमेर अनुसार तौल र उचाई कम देखियो भने पोषण गृहमा पठाउनुहुन्छ ।”, पोषण अधिकृत आचार्यले भने, “बच्चामा कुपोषण देखियो भने चिन्ता लिनुपर्दैन, सहजै उपचार हुन्छ ।”

बच्चालाई पोषणको मात्रा पुग्ने गरी पौष्टिक खानेकुरा, भिटामिनलगायतका औषधिसमेत पोषण केन्द्रमै खुवाइन्छ । बच्चाको उपचार सँगै आमा र अन्य अभिभावकलाई पोषण शिक्षासमेत दिने गरिएको छ । बच्चाका आमाहरुलाई पौष्टिक आहार बनाउने र खुवाउने तरिका सिकाइन्छ । उपचारका लागि आएका कतिपय बालबालिका छोटो समयमानै निको भएर जाने गरेको र कतिपयलाई ४५ दिन सम्म राख्नुपरको पोषण केन्द्रमा कार्यरत नर्स शर्मिला पौडेलले बताइन् । उपचार सकेर घरफर्के पछि पनि केन्द्रले ४५ दिन सम्म १५,१५ दिनमा ‘फ्लोअप’ गर्ने गरेको उनको भनाइ छ । अति कुपोषणले ग्रसित बनेका बच्चालाई दुई महिनासम्म पोषण केन्द्रमा राखेर उपचार र रेखदेख गर्ने गरिएको छ । सामान्यतया १६ दिनसम्मको उपचारले बालबालिका निको भई घर फर्कने गरेका छन् ।

उक्त केन्द्रमा धवलागिरि क्षेत्रका जुनसुकै बालबालिका र अभिभावकले सेवा लिन पाउँछन् । गृहमा बालबालिकालाई खेल्न र रमाउनका लागि अलग्गै कक्षसमेत निर्माण गरिएको छ । पोषण अधिकृतको नेतृत्वमा स्वास्थ्यकर्मी र अन्य कर्मचारी केन्द्र सञ्चालनमा खटिएका छन् ।

बालबालिकामा कुपोषणको लक्षण देखिएमा तुरुन्त पोषण पुन:स्थापना केन्द्रमा ल्याउनुपर्ने पोषण अधिकृत आचार्यले बताए । कुपोषणलाई विपन्न परिवारका बच्चामा देखिने स्वास्थ्य समस्याका रूपमा लिने गरिएपनि पछिल्लो समय सम्पन्न परिवारका बच्चामा पनि यो समस्या बढीरहेको उनको भनाइ छ । परिवारले खानपानमा ध्यान नदिँदा बच्चामा कुपोषण लाग्ने गरेको उनले बताए । कुपोषण भएको थाहा भएर अभिभावकलाई भन्दा पनि धेरैले केन्द्रमा ल्याउन आनाकानी गर्ने गरेको अधिकृत आचार्यले बताए ।

स्थापना भएयता  केन्द्रले १२ सय भन्दाबढी कुपोषित बालबालिकालाई सेवा दिइसकेको छ । केन्द्रमा एकैपटकमा दस बालबालिका राख्ने क्षमता छ । कुपोषण हुँदा बच्चा दुब्लाएर ख्याउटे हुने, आँखा भित्र गड्ने, हातखुट्टा राम्ररी नचल्ने, कपाल खैरो हुने, लामो सयमसम्म निदाउने, बढी रुने, झगडा गर्ने जस्ता लक्षण देखिने स्वास्थ्यकर्मी बताउँछन् । पोषणको कमीले बालबालिकाको मानसिक तथा शारीरिक वृद्धि, विकासमा नकारात्मक प्रभाव पर्ने उनीहरूको भनाइ छ ।

पोषण अधिकृत आचार्यका अनुसार अभिभावकलाई बच्चामा कुपोषण भएनभएको थाहा हुँदैन । पोषिलो खानेकुरा अभावमा हुने कुपोषणको प्रभाव शारीरिक र मानसिक दुवैमा देखिने गरेको उनको भनाइ छ । बच्चाले खाना नखाने, धेरै रुने, सुत्ने, झगडा मात्र गर्ने गरेमा कुपोषणले असर गरेको हुनसक्ने उनले बताए ।

पोषण पुन:स्थापना केन्द्रबाट धवलागिरि क्षेत्रका जुनसुकै बालबालिका र अभिभावकले सेवा लिन पाउने व्यवस्था छ । ‘युथ फाउण्डेशन’ले चारतारे युवा क्लब बागलुङमार्फत रु ५८ लाखको लागतमा बनाएको केन्द्र सुरूको तीन वर्ष फाउण्डेशन र क्लब मिलेर चलाएपनि अहिले अस्पतालले नै संचालन गरिरहेको छ ।