बागलुङ, २७ असोज
यहि असोज ११ गते दरमखोलामा आएको बाढीले सडक बगाएपछि तीन सातादेखि अवरुद्ध गलकोट–ताराखोला जोड्ने मुख्य सडक सञ्चालनमा आएको छ। सडक सञ्चालनमा आएसँगै यातायात सम्पर्कविच्छेदको समस्यामा परेका ताराखोलावासीलाई राहत मिलेको छ।
बाढीले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सिमानामा पर्ने गाईघाट झरना नजिकै सडकको ट्र्याक बगाएपछि यातायात अवरुद्ध भएको थियो। बाढीले सडकका विभिन्न भागमा क्षति पुर्याउँदा गलकोटदेखि ताराखोला गाउँपालिकासम्मको यातायात सम्पर्क प्रभावित बनेको थियो।
अवरुद्ध सडक अस्थायी रूपमा मर्मत तथा पुनःस्थापना गरी यातायात सञ्चालनमा ल्याइएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिनुभयो। सडक पूर्ण रूपमा व्यवस्थित भइनसके पनि अस्थायी रूपमा सञ्चालनमा आएपछि चाडबाडका बेला स्थानीयवासीको आवतजावत सहज हुने उहाँले बताउनुभयो।
सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई दैनिक आवतजावत गर्न तथा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको थियो। गाउँपालिकाका अध्यक्ष विकका अनुसार अन्य सहायक सडकहरू पनि दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मतको काम भइरहेको छ।