बागलुङ, २६ असोज
यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि बन्द रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ जोड्ने मालढुङ्गा पुल सोमबारदेखि संचालनमा आएको छ ।
बाढीले पुलको पहुँच सडक बगाएपछि १६ दिनदेखि पुलमा सवारी आवागमन रोकिएको थियो । पहुँच सडक मर्मतपछि पुल संचालनमा आएको सडक डिभिजन कार्यालय, पोखराका इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिनुभयो ।
पुल बनेसँगै बागलुङ हुँदै पश्चिमतर्फ सिधा यातायात सेवा संचालनमा आएको उहाँको भनाइ छ । उक्त पुल अवरुद्ध हुँदा धवलागिरि क्षेत्रका विभिन्न जिल्लामा सवारी आवागमन प्रभावित बनेको थियो ।
चाडबाडको मुखमा मुख्य सडकमार्ग बन्द हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको थियो । महँगो भाडा तिरेर घुमाउरो वैकल्पिक सडकबाट यात्रा गर्नुपर्ने बाध्यता थियो ।
ढुवानी प्रभावित हुँदा बजारमा मालसामानको भाउ बढेको थियो । मालढुङ्गाको पुल भत्केपछि लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट बागलुङ हुँदै काठमाडौँसम्मको बस सेवा ठप्प भएको थियो ।
साना सवारीसाधन पर्वतको दोबिल्लाबाट फलेवास, जैमिनीघाट हुँदै कालीगण्डकी करिडोर भएर बागलुङ भित्रने गरेका थिए । केही सवारीसाधन मालढुङ्गादेखि म्याग्दीको बेनी बजार, रत्नेचौर हुँदै यात्रु लिएर बागलुङ पुग्ने गरेका थिए ।
मालढुङ्गा नजिक रहेको खनियाघाटको झोलुङ्गे पुलबाट पनि सर्वसाधारण आउजाउ गर्दै आएका थिए । साना सवारीसाधनबाट खनियाघाट पुगेका यात्रु झोलुङ्गे पुल तरेपछि अर्को सवारीसाधनमा बागलुङ बजारसम्म पुग्ने गरेका थिए ।