पोखरा, २३ असोज
कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना बालिका, एक बालक र एक स्थानीयवासी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।
गम्भीर घाइते अवस्थामा घटनास्थलबाट उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १९ जनामध्ये चिकित्सकले पाँच जनालाई मृत घोषणा गरेको उहाँले बताउनुभयो । मृत्यु हुनेको पहिचान अझै खुलिनसकेको उहाँको भनाइ छ ।
कालिका इङ्लिस बोर्डिङ स्कुलको उक्त बसमा १७ जना बालबालिका, एक स्थानीयवासी र एक चालक सवार रहेको पाइएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।