• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

पोखरा–दुबई उडानले ल्याएको उत्साह

पोखरा, ८ असोज

अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरू भएको थियो । फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरू गरेपछि पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखराबाट दुबई जाने यात्रुको बिदाइका लागि आफन्तहरूको भीड देखिन्थ्यो ।

कोही घर फर्कदाँको खुसी साटीरहेका थिए, कोही परिवार र आफन्तसँग छुट्टिएर जानुपर्दाको क्षणले भावुक देखिन्थे । पहिलोपटक दुबईदेखि सिधा उडानबाट पोखरा आउने यात्रुको स्वागतका लागि स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, पर्यटन व्यवसायीलगायत विमानस्थल पुगेका थिए ।

फ्लाई दुबईको जहाज हेर्नकै लागि पनि कतिपय जनसाधारण विमानस्थल परिसरमा झुम्मिएका थिए । यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय चार्टर उडान गरेपनि नियमित उडान हुन सकेको थिएन । फ्लाई दुबईले दैनिक उडान तालिकासहित बुधबारदेखि व्यावसायिक उडान सुरू गरेपछि पोखरेलीमाझ उत्साह छाएको छ ।

पाँच दशकअघि पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणको ‘सपना’ देखेका पोखरेलीहरू आफ्नो गृहसहर अन्तराष्ट्रिय हवाई संजालमा जोडिएका औधी खुसी छन् । दुबईबाट पहिलो उडानमा आउनुभएका पोखरा महानगरपालिका(३२ का कृष्णबहादुर खड्काले जहाजबाट आफ्नो गाउँ र रूपाताल हेर्दै पोखरा ओर्लदाँको क्षणले रमाइलो अनुभूति दिलाएको बताउनुभयो । “विदेशबाट आउँदा सिधै पोखरा आएर घर जान पाइने यो भन्दा खुसीको कुरा अरू के हुन सक्छरु१”, उहाँले भन्नुभयो, “लामो समयपछि हामी पोखरेलीको सपना पूरा भएको छ ।”

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि पोखरेलीले गरेको संघर्ष स्मरण गर्नुभयो । “पचास वर्षदेखिको हाम्रो सपना पूरा भएको छ, विमानस्थल बनाउन कत्रो संघर्ष गर्यौँ, अनसन बस्यौँ”, उहाँले भन्नुभयो, “अन्ततस् पोखरादेखि दुबई नियमित उडान सुरू भएको छ, यो हाम्रा लागि गर्वको क्षण हो, यसलाई दिगो र प्रभवकारी गराउने जिम्मेवारी पनि हाम्रै काँधमा आएको छ ।”

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा दुबईसँग मात्र नभएर अन्य अन्तराष्ट्रिय सहरहरसँग पनि जोडिएको बताउनुभयो । “दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकबाट अब सजिलै पोखरा आउन सकिने भएको छ, यसले पर्यटनसँगै आर्थिक क्षेत्रमा पनि नयाँ अवसर सिर्जना गरेको छ”, उहाँले भन्नुभयो, “यो उडान सफल हुनेमा हामी ढुक्क छौँ, यात्रु र पर्यटकलाई आकर्षित गर्न पर्यटन बोर्डले दुबईलगायत अन्तराष्ट्रिय सहरमा प्रर्वद्धानात्मक कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।”

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा(दुबई सिधा उडान हुनु पोखरेलीका लागि खुशी र गौरवको विषय रहेको बताउनुभयो । “पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि यो महत्वपूर्ण अवसर हो”, उहाँले भन्नुभयो, “यो उडान एउटा जहाज उडान मात्र होइन, पोखराको अन्तर्राष्ट्रिय आकाशतर्फको नयाँ यात्राको सुरुवात पनि हो ।”

दुबई अन्तराष्ट्रिय विमानस्थलबाट साढे चार घण्टाको उडान अवधि पार गरेर फ्लाई दुबईको बोइङ ७३७ म्याक्स ८ जहाज बुधबार साँझ ६ः१९ बजे पोखरा अवतरण गरेको थियो । ११३ जना यात्रु लिएर आएको उक्त जहाजलाई पानीको फोहराले स्वागत गरिएको थियो । पोखराबाट साँझ ७ः५५ बजे १५२ जना यात्रु लिएर जहाज दुबई फर्केको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

यो उडानसँगै पोखरासहित सिंगो गण्डकी प्रदेशको अन्तराष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन र यात्रु आवागमन थप सहज हुने उहाँको भनाइ । यसअघि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तरराष्ट्रिय उडान सुरु गरे पनि नियमित हुन नसकेकामा फ्लाई दुबईले नयाँ आशा जगाएको उहाँले बताउनुभयो ।

पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्राअवधि छोटिँदा खर्च पनि घट्ने उहाँको भनाइ छ । पहिलो उडानबाट आएका यात्रुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डा।मुकेश डङ्गोल, विमानस्थलका पदाधिकारी, कर्मचारी पोखरेली पर्यटन व्यवसायीलगायतले स्वागत गरेका थिए । पोखराबाट दुबई जाने यात्रलाई बिदाइ गरिएको थियो ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकीका अध्यक्ष सङ्गीता पौडेलले नेपाल पर्यटन बोर्डको सहयोगमा यात्रुहरुलाई विशेष उपहार प्रदान गरिएको बताउनुभयो । “नाट्टामा आबद्ध व्यवसायीहरु, होटल तथा रेष्टुराँ व्यवसायीहरुले पनि उपहारसहित यात्रुहरुलाई आफ्नो व्यवसायको प्रवर्द्धनात्मक सामग्रीहरु प्रदान गर्नुभयो”, अध्यक्ष पौडेलले भन्नुभयो, “सो अवसरमा फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई लक्ष्य गरी ल्याइएका विभिन्न छुट योजनाबारे पनि जानकारी गराइएको छ ।”

पोखरा–दुबई सीधा उडानले पर्यटकीय राजधानी पोखरा मात्र नभएर मुलुककै सिङ्गो पर्यटन क्षेत्रलाई लाभ पु¥याउने उहाँको भनाइ छ ।फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्ने भनिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स ९यूएई० का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको निधन भएका कारण रद्द गरिएको थियो ।

पोखरा(दुबई उडान सुरू भएसँगै पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन् । वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि यो उडान सेवा लाभदायी हुने देखिएको छ ।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान सुरु गरेको हो । दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो ।

सरकारले अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ । विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ ।

फ्लाई दुबईको उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले पनि छुट योजना ल्याएका छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रुरपर्यटकलाई पोखराका होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो । “छुट योजनामा अहिलेसम्म ५० वटा होटल समावेश गरिएको छ, यो सङ्ख्या अझै थपिन्छ”, उहाँले भन्नुभयो, “छुट दिनेमा पोखराका पर्यटकस्तरीय होटल रहेका छन्, कतिपय तारे होटल पनि छन् ।”

पहिलो उडानबाट दुबईदेखि पोखरा आउने यात्रुका लागि एक रातका लागि बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क गरिएको थियो । रेष्टुराँ एण्ड बार एसोसिएसन ९रेवान० पोखराले पनि फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई संस्थामा आबद्ध रेष्टुराँहरुमा १५ देखि २० प्रतिशतसम्म छुट दिइने जनाएको छ । फ्लाई दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको छ ।

विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडेको छ । विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा फ्लाई दुबईले सीधा उडान गर्दै आएको छ । पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरहरुमा पुग्ने यात्रुहरुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नुहने बताइएको छ । फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक ‘कोडसेयर’

साझेदारीअन्तर्गत दुबई–पोखरा–दुबई उडान सेवा सञ्चालन गरिएको हो ।