• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

बागलुङ कारागारमा उडुसले हैरानी

बागलुङ, ७ असोज
बागलुङ कारागारका कैदीबन्दी उडुस र लामखुट्टेको टोकाइबाट हैरान परेका छन् ।

कारागारमा उडुस र लामखुट्टेको समस्या बढ्दै गएपछि कैदीबन्दीहरूले तत्काल नियन्त्रण गर्न माग गरेका छन् ।

कैदीबन्दीका प्रतिनिधि चौकीदारमार्फत कारागार प्रशासनलाई उडुस नियन्त्रणसहित आठ बुँदे माग समेटिएको निवेदन हालै बुझाइएको हो ।

कैदीबन्दीहरूले निवेदनमा कारागारभित्र उडुस परेर बस्न र सुत्न समस्या भएको उल्लेख गर्दै बागलुङ नगरपालिकाको स्वास्थ्य शाखासँग समन्वय गरी उडुस तथा लामखुट्टे नियन्त्रणका लागि औषधि छर्ने, लार्भा र अण्डा नष्ट गर्ने अभियान सञ्चालन गर्न माग गरेका छन्।

निवेदनमा शौचालयमा ढोका जडान, खाना पकाउने स्थानमा हिटर वा चिम्नीको व्यवस्था, चुइने टिनको छाना मर्मत, भित्तामा रङरोगन, विद्युतीय पङ्खा, टेलिभिजन तथा भेटघाटका लागि माइक व्यवस्थापन गर्नुपर्ने माग पनि राखिएको छ।

साथै क्यारम बोर्ड, भलिबल, फुटबल नेट, ब्याडमिन्टनका सामग्री र टेबलटेनिसका उपकरण उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय गर्न अनुरोध गरिएको छ।

कैदीबन्दीहरूले कारागारको भौतिक संरचना सुधारका लागि उद्योग वाणिज्य संघ, सामुदायिक वन तथा अन्य स्थानीय निकायसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन पनि आग्रह गरेका छन्।

जिल्ला कारागार बागलुङका कारागार प्रशासक सान्त्वना पाठकले कैदीबन्दीहरूले उठाएका मागहरू सामान्य प्रकृतिका रहेको बताउनुभयो । “उडुस र लामखुट्टे नियन्त्रणका लागि काम भैरहेको छ”, उहाँले भन्नुभयो, “कारागार भवनमा रङ्गरोगन तथा अन्य मर्मतसम्भारका कामका लागि पूर्वाधार विकास कार्यालयसँग छलफल भइरहेको छ ।”

कारागारमा क्षमता भन्दा बढी कैदिबन्दी रहेकाले केहि समस्या भएको भन्दै उहाँले क्रमश: समस्या समाधान गर्दै जाने बताउनुभयो ।