• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

प्याप्सन बागलुङद्वारा बाढी प्रभावितलाई १२ लाख बढी सहयोग

बागलुङ, २८ भदौ

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) बागलुङले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १२ लाख ७७ हजार ६३३ रुपैयाँ सहयोग गरेको छ।

प्याप्सन बागलुङका अध्यक्ष दल थापाका अनुसार जिल्लाका सदस्य विद्यालय, विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट संकलन गरिएको रु. आठ लाख २४ हजार ७४१ रुपैयाँ प्याप्सन केन्द्रको खातामा पठाइएको हो। प्याप्सन केन्द्रले देशभरका जिल्लाबाट संकलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने व्यवस्था गरेको छ।

यसैबीच, प्याप्सनमा आबद्ध बागलुङका विभिन्न विद्यालयहरूले केन्द्रमार्फत नभई आफ्नै तर्फबाट पनि प्रधानमन्त्री राहत कोषमा रु. चार लाख ५२ हजार ८९२ रुपैयाँ सिधै जम्मा गरेका छन्। प्याप्सन बागलुङमार्फत प्रधानमन्त्री राहत कोषमा रु. १२ लाख ७७ हजार ६३३ रुपैयाँ सहयोग पुगेको अध्यक्ष थापाले जानकारी दिए।

भोटेकोशी–त्रिशूली नदीमा यही भदौ १० गते गएको बाढी तथा विपद्का पीडितहरूको राहत र उद्धारमा सघाउने उद्देश्यले प्याप्सन बागलुङले जिल्लाभरका सदस्य विद्यालयमार्फत राहत संकलन अभियान सञ्चालन गरेको थियो। अध्यक्ष थापाले विपद्को घडीमा सहयोग गर्ने सम्पूर्ण विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।