बागलुङ, २० भदौ
नेपाल पत्रकार महासंघ बागलुङ शाखामा स्थापित हेम–चन्द्र स्मृति पत्रकारिता पुरस्कार धौलागिरी जागरण दैनिकका सम्पादक सिर्जना पन्तलाई प्रदान गरिएको छ।
अधिवक्ता मन्दिरा शर्मा र राम शर्माले आफ्नी आमा हेमकुमारी शर्मा र बुबा चन्द्रदत्त शर्माको स्मृतिमा महासंघमा स्थापना गरेको पुरस्कार कोषबाट शनिबार आयोजित कार्यक्रममा पन्तलाई पुरस्कृत गरिएको हो । पन्त नेपाल पत्रकार महासंघ बागलुङ शाखाको उपाध्यक्षसमेत हुनुहुन्छ।
पत्रकारितामार्फत
मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई नगद रु. ५० हजार, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो । पुरस्कार कोषका संस्थापक राम शर्मा र बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले संयुक्त रूपमा पुरस्कार प्रदान गर्नुभएको थियो।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले न्याय र सामाजिक उत्तरदायित्वका विषयमा बोल्ने र लेख्ने पत्रकारको भूमिका समाजका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस्ता पुरस्कारले पत्रकारलाई निडर, जिम्मेवार र सशक्त ढंगले पत्रकारितामा निरन्तर लाग्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
पुरस्कृत पत्रकार सिर्जना पन्तले पुरस्कारले मानव अधिकार र सामाजिक न्यायका विषयमा अझ जिम्मेवार ढंगले कलम चलाउने प्रेरणा मिलेको बताउनुभयो।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षता, सचिव नारायण रिजालको सञ्चालन र उपाध्यक्ष सुवास आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्ष गीता श्रीस, महासंघका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी तथा पुरस्कार कोषका संस्थापकका तर्फबाट मन्दिरा शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।