• २०८३ कार्तिक २, आइतबार
  • 2026 October 18, Sunday
  • Unicode Converter

उद्यमी लक्ष्मीको प्रेरणादायी कथा

बागलुङ, १९ भदौ
गाउँमै होजियारी उद्योग चलाइरहनुभएकी लक्ष्मी क्षेत्री धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । बागलुङ नगरपालिका–१३ पैँयूपाटाकी उहाँले सञ्चालन गरेको ‘लक्ष्मी होजीयारी उद्योग’मा घरका सदस्यसहित दुई जनाले रोजगारी पाएका छन् ।

५४ वर्षीया क्षेत्री अहिले कलेजी रङ्गका स्वीटर बुन्न व्यवस्त हुनुहुन्छ । आउने जाडोयाममा शिक्षकहरुका लागि स्वीटरको माग भएपछि उहाँलाई भ्याइनभ्याइ भएको हो । उद्योगमा दुईवटा स्वीटर बुन्ने यन्त्र रहेको क्षेत्रीले बताउनुभयो । २०७३ मा आफ्नै गाउँमा सञ्चालित सात दिनको उद्यमशील तालिम लिनुभएकी क्षेत्रीले सिकेको सिपलाई व्यवसायमा बदल्नुभएको हो ।

उद्यममा लागेपछि क्षेत्रीको परिवार आर्थिक रुपमा पनि सबल बन्दै गएको छ । बागलुङ नगरपालिका–९ तित्याङ जन्मनुभएकी उहाँ सानैदेखि सिलाइबुनाइमा रुची राख्नुहुन्थ्यो । विवाहपछि पनि सामान्य खेतीपाती गरेर जीवन निर्वाह गर्दै आउनुभएकी उहाँले २०७५ मा रु. २० लाख लगानी गरेर स्वीटर बुन्ने यन्त्र किन्नुभएको थियो । “तालिमपछि मेसिन किने अनि व्यवसाय सुरु गरेँ”, उहाँले भन्नुभयो, “श्रीमान, छोरा, छोरी लगायत घरका सबै यही काममा जोडिएका छौँ ।” क्षेत्रीले उद्यम सुरु गरेपछि विदेशमा रहनुभएका उहाँका श्रीमान पनि घर फर्केनुभयो ।

अहिले परिवारका सबै सदस्य सँगै बसेर होजीयारी उद्योगलाई हाँकिरहनुभएको छ । उद्योगमा स्वीटर, टोपी, गलबन्दीलगायत सामग्री उत्पादन हुने गरेको छ । पछिल्लो समय बजारको मागका आधारमा फेन्सी कपडा हाइनेक, कुर्तासुरुवाल, प्लाजु, टप्स र वानपिस पनि तयार गरी बेच्ने गरिएको क्षेत्रीका श्रीमान पूर्णबहादुर क्षेत्रीले बताउनुभयो । “गर्मी याम हाम्रा लागि अफसिजन हो तर जाडो यामका लागि अहिले नै अर्डर लिएर काम सुरु गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

“सबै परिवार मिलेर यहि व्यवसाय संञ्चालन गर्ने सोचका साथ छोरालाई पनि बिदेश पठाएका छैनौँ”, उहाँले भन्नुभयो, “विस्तारै व्यवसाय बढाउदै जाने हो अहिले बागलुङमा मात्र हाम्रो उत्पादन बिक्रि भैरहेको छ अब उत्पादन बढाएर धवलागिरि भरी विक्री गर्ने लक्ष्य छ ।” बाहिरबाट आयातित कपडा हेर्दा राम्रो भएपनि भुवा, रङ्ग जाने, तन्कने जस्ता समस्या लिएर ग्राहकहरु आफूकोमा आउने गरेको लक्ष्मीले सुनाउनुभयो । “बाहिरी कपडासँग प्रतिस्पर्धा गर्नु परेपनि एकपटक हाम्रो कपडा लगाएका ग्राहकहरु फर्किफर्कि आउनुहुन्छ, उत्पादनलाई बजारको कुनै समस्या छैन”, उहाँले भन्नुभयो ।

सुरुसुरुमा मेसिनमा कम्प्युटरबाट डिजाइन भर्नुपर्ने भएकाले छोराको सहयोगमा बुट्टा भर्ने लक्ष्मी अहिले कप्युटरबाट बुट्टापनि आफै भर्नुहुन्छ । कक्षा ५ सम्म मात्र अध्यन गर्नुभएकी उहाँले पढेर मात्र भन्दापनि निरन्तर मेहनत र साहसले यहाँसम्म आइपुग्नुभएको हो । उहाँ अहिले उद्यमी मात्र नभएर प्रशिक्षको रुपमासमेत चिनिन थाल्नुुभएको छ ।

विभिन्न संघसस्था, कार्यालयहरुले संञ्चालन गरेको स्थानीय होजियारी सम्बन्धी तालिममा उहाँलाई प्रशिक्षकको रुपमा बोलाउने गरेका छन् । “प्रशिक्षकको रुपमा आफूलाई बोलाउँदा खुसी लाग्छ, आफूले सिकेको सिप महिला दिदिबहिनिहरुलाई सिकाएर उनिहरुलाई आत्मनिर्भरताको बाटो देखाउन पाएकी छु ।” दिनप्रतिदिन युवाहरु विदेशिने र गाउँ रित्तिदैँ जाने क्रम चलिरहेको भन्दै उहाँले हातमा सिप हुुने र मेहनत गर्न सक्ने हो भने आफ्नै ठाउँमा आत्मनिर्भर बन्न सकिने बताउनुभयो । “अहिले बजार पनि राम्रो छ, हाम्रो उत्पादनप्रति सबैको सकारात्मक प्रतिक्रियाले सन्तुष्टि मिल्छ”, क्षेत्रीले भन्नुभयो, “परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरेका छौँ, दुःखसुखमा परिवार साथमा हुन्छन् यो नै सबैभन्दा ठूलो कुरा हो ।” उहाँलाई व्यवसायमा अझै लगानी बढाउन मन छ ।

परिवारको त पनि साथ छ । छिमेकी र आफन्तले पनि उहाँलाई साहसी र आँटिली महिलाको रुपमा चिन्छन् । क्षेत्रीको होजियारी उद्योग केबल एउटा घरेलु व्यवसाय मात्र होइन, यसले उद्यमशीलताको सन्देश पनि दिएको छ । उहाँको उद्यमशील सोच, सक्रियता र आत्मनिर्भरताले उहाँको परिवारलाई आर्थिक रुपमा सक्षम मात्र बनाएको छैन, यसले गाउँमा पनि स्वरोजगारको सम्भावना उजागर गरी महिलाको आत्मविश्वाससमेत जगाएको छ