• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

प्रबुद्ध युवा समूहले प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता गर्ने

बागलुङ, १० भदौ
प्रबुद्ध युवा समूहले हरितालिका तीजको अवसरमा गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। बुधबार बागलुङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो।

समूहका अध्यक्ष रोहित सुनारले मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्दै नयाँ पुस्तामा यसको महत्व हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो।

उहाँका अनुसार २०७९ सालमा स्थापना भएको प्रबुद्ध युवा समूहले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, कला, संस्कृति तथा युवा नेतृत्व विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। तीज नृत्य प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व विकासमा समेत टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

प्रतियोगितामा गण्डकी प्रदेशभरका इच्छुक विद्यालयले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रथम पुरस्कार रु। ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार रु। २७ हजार ५ सय ५५ र तृतीय पुरस्कार रु. १५ हजार ५ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ।

साथै उत्कृष्ट कोरियोग्राफी, उत्कृष्ट प्रस्तुति र अन्य उत्कृष्ट सहभागिताका लागि विशेष सम्मान तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। प्रतियोगिता भदौ २१ गते बागलुङको समीक्षालय चोकमा सञ्चालन गरिनेछ।

प्रतियोगिता सञ्चालनका लागि रु. ७ लाख ६८ हजार ६ सय ६५ खर्च लाग्ने अनुमान गरिएको छ। खर्च व्यवस्थापनका लागि स्थानीय तह, विभिन्न संघसंस्था, बैंक, सहकारी तथा उद्योगी–व्यवसायीसँग सहयोग संकलन भइरहेको आयोजकले जनाएको छ।