• २०८३ कार्तिक १, शनिबार
  • 2026 October 17, Saturday
  • Unicode Converter

जेसिज सप्ताह सुरु, शर्मा र राजभण्डारी सम्मानित

बागलुङ, ९ भदौ

बागलुङ जेसीजले यस वर्षको जेसिज सप्ताह विभिन्न कार्यक्रमसहित सुरु गरेको छ। प्रत्येक वर्ष आयोजना हुँदै आएको सप्ताह यस वर्ष भदौ ९ देखि १५ गतेसम्म सञ्चालन हुने मूल संयोजक तथा बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष सुलभ खड्काले जानकारी दिनुभयो।

सप्ताहको पहिलो दिन उद्घाटन तथा युवा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख तथा बागलुङ जेसीजका पूर्वअध्यक्ष बसन्तकुमार श्रेष्ठले समाज र देशको रूपान्तरणका लागि युवामा सकारात्मक सोच र सक्रिय नेतृत्व आवश्यक रहेको बताउनुभयो। जेसीज नेतृत्व विकासको पाठशाला भएकाले यहाँबाट नेतृत्व गरेका युवाले देशको नेतृत्व गर्न सक्ने उहाँको भनाइ थियो।

कार्यक्रममा समाज रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै ट्राभलर तथा फोटोग्राफर सन्दीप शर्मा र सन्ध्या क्रिएसन बुटिक एन्ड मेकअप स्टुडियोका सञ्चालक तथा युवा व्यवसायी सन्ध्या राजभण्डारी श्रेष्ठ लाई स्वर्गीय कृष्णप्रसाद शाक्य स्मृति कोषबाट युवा सम्मान प्रदान गरिएको छ।

बागलुङ जेसीज बोर्ड अफ ट्रस्टीका अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ, लिडर्स अध्यक्ष पार्वती अधिकारी, नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव नवराज परियार तथा सम्मानित व्यक्तित्व सन्ध्या राजभण्डारी श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो।

बागलुङ जेसीज वर्ष २०२६ की शाखा अध्यक्ष अञ्जिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मूल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष सुलभ खड्काले गर्नुभएको थियो भने सञ्चालन महासचिव स्वीकृति भारीले गर्नुभएको थियो।

जेसिज सप्ताहअन्तर्गत भदौ १० गते धौलागिरि बहुमुखी क्याम्पसमा मनोपरामर्श कार्यक्रम, भदौ ११ गते बाघचोकमा स्वर्गीय सत्य श्रेष्ठ स्मृति स्लो बाइक रेस प्रतियोगिता, भदौ १२ गते होटल दि राजनमा उद्घोषण कला तालिम आयोजना गरिने भएको छ।

यस्तै, भदौ १३ गते रस आवर फुटसलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता, भदौ १४ गते राधाकृष्ण मन्दिरको सभाहलमा १२औँ अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा भदौ १५ गते होटल पिस प्यालेसमा स्वर्गीय प्रगतिकुमार श्रेष्ठ स्मृति वक्तृत्वकला प्रतियोगिता र समापन कार्यक्रम आयोजना गरिने अध्यक्ष अञ्जिला श्रेष्ठले जानकारी दिनुभयो।